धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसीमा औषधि हराएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि प्रतिष्ठानभित्र हलचल मच्चिएको छ।
अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार करिब ५ करोड ५० लाख रुपैयाँ बराबरका औषधिमध्ये करिब ५० लाख रुपैयाँ बराबरको स्टक अभाव, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख बराबरको बिक्री गडबडी, र १४ लाखभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेको उल्लेख छ।
फार्मेसीमा राखिएका औषधि एकाएक हराएपछि अस्पतालका निर्देशक डा.जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा.लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, र कर्मचारी विवेक दाहालकै संलग्नतामा औषधि गायब भएपछि उनिहरु छानबिनमा तानिएका छन्।
प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार फार्मेसीमा अनियमितता फेला परेपछि छानबिन प्रक्रिया तीव्र बनाइएको छ।
उनका अनुसार दोषी देखिएका कर्मचारीलाई निलम्बन गरी छानबिन समिति गठन गरिएको छ। समितिको संयोजन डा. विष्णु पोखरेलले गरेका छन् ।
घोटालाको तथ्य बाहिरिएसँगै प्रतिष्ठानले फार्मेसी अस्थायी रूपमा बन्द गरेको छ।
फार्मेसी बन्द हुँदा उपचारका लागि आउने बिरामीहरू औषधिविहीन भएका छन् र स्वास्थ्य बीमा अन्तर्गत निःशुल्क औषधि सेवा पनि ठप्प भएको छ। बिरामीहरू अब बाहिरी मेडिकलबाट महँगो दरमा औषधि खरिद गर्न बाध्य भएका छन्।
समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ।
यसैबिच प्रतिष्ठानले घटनाबारे स्पष्टीकरणसहित विज्ञप्ति जारी गरेको छ। अस्पतालकी प्रवक्ता डा. अञ्जु प्रधानले जारी गरेको विज्ञप्ति अनुसार, उक्त फार्मेसीको सञ्चालन केटीएम सेक्युरिटी सर्भिसेज प्रा. लि. नामक निजी कम्पनीलाई ठेक्कामा दिइएको थियो।
उनका अनुसार, कम्पनीलाई बारम्बार पत्राचार गरे पनि फार्मेसीमा भौतिक परीक्षणका लागि प्रतिनिधि नपठाउँदा वास्तविक स्टक जाँच हुन नसकेको हो।
डा. प्रधानका भनाइअनुसार, “यो घटना अहिलेको अवस्थामै घोटाला भनेर निष्कर्ष निकाल्ने स्थिति छैन। प्रारम्भिक तथ्यका आधारमा मात्र छानबिन भइरहेको हो। समितिको अन्तिम प्रतिवेदनपछि मात्र दोषी निर्धारण र कारबाही हुनेछ।”
उनले थपिन्, “छानबिन पूरा भएपछि दोषीमाथि आवश्यक कारबाही गरिनेछ र फार्मेसी पुनः सञ्चालनमा ल्याइनेछ। बिरामी सेवामा पर्ने असर न्यून पार्न वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको छ।”
प्रतिक्रिया