काठमाडौँ : जेनजी आन्दोलन भएको एक महिना बितिसक्दा पनि सो आन्दोलनका क्रममा मृत्यु भएका १२ जनाको पहिचान अझै खुल्न सकेको छैन।
नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ चाबहिल चुच्चेपाटी क्षेत्रमा फेला परेका सातवटा कङ्काल र सुनसरीको भाटभटेनीमा भेटिएका पाँचवटा कङ्कालको पहिचान हुन सकेको छैन।
न आन्दोलनका क्रममा मृत्यु भएकाका परिवार सम्पर्कमा आएका छन्, न त सरकारले मृत्यु भएको आसपासका क्षेत्रमा रहेका सिसी क्यामेरा फुटेजलगायतका प्रमाण प्रयोग गरेर ती व्यक्तिहरूको पहिचान गर्न सकेको छ। अहिले प्रहरीसँग यति मात्र तथ्याङ्क छ—“कङ्काल भेटिएका छन्।”
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा मात्र गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यही दिन सुनसरीको इटहरीमा दुई जनाको ज्यान गएको थियो। भदौ २४ गतेसम्म मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको हो। ती सबैलाई सरकारले ‘शहीद’ घोषणा गरिसकेको छ।
तर ती ७६ जनामध्ये को–को थिए भन्नेबारे सरकारले हालसम्म पूर्ण विवरण सार्वजनिक गर्न सकेको छैन। नेपाली सेनाका अनुसार ७६ जनामध्ये २२ जना मात्र प्रदर्शनकारी हुन्, तीन जना प्रहरी र १० जना कैदीबन्दी रहेका छन्। बाँकी ४१ जनाको परिचयबारे सेनाले प्रस्ट विवरण दिएको छैन।
सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सो विवरण सार्वजनिक गरेका थिए, जसमा उक्त कटकालसम्बन्धी तथ्य पनि समावेश थियो।
नेपाल प्रहरीका अनुसार ती शवमा मांसपेशी जलेर कङ्काल मात्र बाँकी रहेको अवस्थामा फेला परेका हुन्। ती सबै शव त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएका छन्।
शव पहिचानका लागि प्रहरीको अनुरोधमा अस्पतालको फरेन्सिक विभागले परीक्षण गरिरहेको भए पनि ३८ दिन बितिसक्दा पनि पहिचान खुल्न सकेको छैन। चिकित्सकका अनुसार शव पूर्ण रूपमा जलेका कारण डिएनए परीक्षण कठिन बनेको हो।
डिएनए परीक्षणका लागि जीवित सेल आवश्यक पर्छ, तर शरीर पूर्ण रूपमा जलेर कङ्काल मात्रै बाँकी रहेकाले परीक्षणमा समस्या आएको बताइन्छ। तथापि, नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसीमा परीक्षण प्रक्रिया जारी रहेको फरेन्सिक चिकित्सकहरूले जनाएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शव दाबी गर्न हालसम्म कुनै आफन्त पुगेका छैनन्। प्रहरीका भनाइअनुसार जेनजी आन्दोलनमा सहभागी भएर हराएका वा घर फर्किन नसकेका व्यक्तिहरूका परिवारले समेत निवेदन दिएका छैनन्। हराएका भनेर पनि अहिलेसम्म प्रहरीको सम्पर्कमा कोही आएका छैनन्।
प्रतिक्रिया