काठमाडौँमा राति ९ बजेपछि देउसी–भैली खेल्न नपाइने

शनिबार, ०१ कार्तिक २०८२
तस्बिर : फाइल

काठमाडौँ। दिपावली पर्वलाई सुरक्षित र मर्यादित रूपमा मनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कानुनद्वारा निषेधित गतिविधि नगर्न अनुरोध गरेको छ।

कार्यालयले दीप प्रज्वलनका क्रममा मैनवत्ती र बिजुलीको प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन, आतसबाजी, पटाका, भुइँचम्पा लगायत विस्फोटक तथा आगलागी हुन सक्ने सामग्रीको खरिद–बिक्री, भण्डारण र प्रयोग नगर्न आग्रह गरेको छ।

देउसी–भैली जस्ता सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले राति ९ बजेसम्म मात्र गर्नुपर्नेछ। त्यसभन्दा पछि कुनै पनि किसिमको कार्यक्रम सञ्चालन नगर्न र नजिकका बासिन्दा वा सार्वजनिक आवागमनलाई असुविधा नहुने गरी खेल्ने व्यवस्था मिलाउ प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले सार्वजनिक सडक, पदमार्ग वा चोकमा आवागमन अवरुद्ध हुने गरी देउसी–भैली खेल्न वा पूजा मण्डप बनाउन नपाइने चेतावनीसमेत दिएको छ।

चाडपर्वमा चोरी र ठगीका घटना बढ्ने भएकाले घर खाली नछोड्न, छिमेकीसँग समन्वय गर्न, र शंकास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरी वा सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि वा म्याद नाघेका सामान बिक्री गर्ने कार्य नगर्न तथा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने र तोकिएको भाडा भन्दा बढी नलिने कार्यमा सचेत रहन पनि प्रशासनले ध्यानाकर्षण गराएको छ।

साथै, चिठ्ठा, जुवातास वा अनलाइन कारोबारका नाममा हुने गैरकानूनी कार्य र विद्युतीय माध्यमबाट हुने ठगीबाट सजग रहन सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार