काठमाडौँ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एउटै टिम बनाएर महाधिवेशन हाँकेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आगामी नेतृत्वका लागि प्रतिस्पर्धाको तयारीमा छन्।
२०७८ मङ्सिर २४–२८ मा भएको १४औँ महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दा कोइराला र थापाले समूह बनाएरै महाधिवेशन हाँकेका थिए।
सो महाधिवेशनमा सभापति संस्थापन पक्षकै नेता शेरबहादुर देउवा बनेका थिए भने दुई महामन्त्रीमा कोइरालाको टिमका थापा र प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्माले जितेर पार्टी चलाइरहेका छन्।
सभापतिमा पराजित शेखर निरन्तर प्रतिपक्षको भूमिकामा रहेर चार वर्ष बिताइसकेका छन्। २०८२ मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने एजेन्डा बोकेर देशव्यापी अभियान चलाएका डा. शेखरले पार्टीको चालू बैठकमा पनि आफ्नो धारणा प्रस्ट राखे।
उनले मंसिरभित्र महाधिवेशन हुनेगरी कार्यतालिका ल्याउन महामन्त्रीहरूलाई सुझाव दिँदै त्यसमा आफ्नो पूर्ण समर्थन रहने बताए। नेता कोइरालाको यो अडानलाई स्वीकार गर्दै महामन्त्रीद्वय थापा र शर्माले आगामी मङ्सिर २७–२९ सम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका छन्। १५औँ महाधिवेशन समयमै गराउने विषयमा उनीहरूबिच मत मिलेको छ।
यद्यपि, आगामी पार्टी नेतृत्वका लागि आ–आफ्नै ढङ्गले तयारी थालेका दुई नेताबिच पछिल्लो साढे दुई वर्षयता सम्बन्धमा दरार आएको छ। पार्टी नेतृत्वका सन्दर्भमा प्रतिस्पर्धामा उत्रिने तयारी गरेका नेताबिच पार्टी निर्माणको एजेन्डामा एकरूपता देखिएको नेपाली काँग्रेसका नेता रञ्जित कर्णले बताए।
उनले भने, ‘नेता शेखर कोइराला गत महाधिवेशनको डे–वानदेखि नै समयमा महाधिवेशन र पार्टी रूपान्तरणको विषयमा प्रस्ट हुनुहुन्थ्यो। तर महामन्त्रीजीहरू पछिल्लो पटक सभापतिलाई साथ दिँदै महाधिवेशन सार्न सहमत हुनुहुन्थ्यो। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएका महामन्त्रीहरूले पनि नेता कोइरालाकै एजेन्डा (नियमित महाधिवेशन)मा जानेगरी समय तालिका ल्याउनुभएको छ। यसले कांग्रेस रूपान्तरण र जागृतीकरणमा सहयोग पुग्ने नै छ।’ जेनजी मुभमेन्टले समयमै महाधिवेशन गर्नुपर्ने प्रेसर काँग्रेसलाई दिएको नेता कर्णको तर्क छ।
काँग्रेसको विधानअनुसार केन्द्रीय समिति कार्यकाल एक वर्ष थप्न पाउने व्यवस्थालाई उपयोग गर्दै २०८३ मा १५औँ महाधिवेशन गर्ने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई स्वीकार गर्दै सहमति दुवै महामन्त्रीले गरेका थिए। जेनजी आन्दोलनपछि पार्टीलाई पुनः संरचित गर्ने भन्दै विशेष महाधिवेशनको प्रस्ताव ल्याएका उनीहरूले विशेष महाधिवेशन प्रयोजनका लागि करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाएका छन्।
तर, केन्द्रीय समितिको कार्यकाल सकिएपछि विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशन गर्नुपर्ने पुरानो अडानबाट नेता कोइराला पछि हटेका छैनन्। संस्थापन पक्षका नेतासमेत नियमित महाधिवेशनकै पक्षमा उभिएपछि महामन्त्रीहरूले पेस गरेको विशेष महाधिवेशनको एजेन्डा ओझेलमा परेको नेताहरूले दाबी गरेका छन्।
असोजको पहिलो साता नै महाधिवेशन प्रतिनिधिको समय सकिएको र वर्तमान केन्द्रीय समितिको पनि समय सकिएपछि विशेष महाधिवेशनको एजेन्डा लिएर महामन्त्रीहरूले पार्टीमा विवाद बढाएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बताए। उनले भने, ‘काँग्रेसको वर्तमान कार्यसमितिको समयावधि सकिनै लागेको छ।
यिनै केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको छनोट गरेका महाधिवेशन प्रतिनिधिको कार्यकाल असोजको पहिलो हप्तामै सकिएकोले यसको वैधानिकतामाथि प्रश्न उठ्छ।
पार्टीको महाधिवेशनमा जेनजीसहितका नयाँ व्यक्तिहरूले भाग नदिई पुरानै महाधिवेशन प्रतिनिधिबाट नेतृत्व मात्रै छान्दा अझै ठूलो समस्या देखापर्छ।’ म्याद सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई मान्यता दिन नसकिने संस्थापन पक्षका नेताको दाबी छ।
तर महामन्त्री थापा र विश्वप्रकाश शर्मानिकटका नेताहरूले नियमित महाधिवेशन समयमै गर्न संस्थापन पक्षलाई दबाब दिन विशेष महाधिवेशनको हस्ताक्षर अभियान चलाएको बताउँछन्। महामन्त्रीहरू महाधिवेशन सार्ने पक्षमा हुनुहुन्थ्यो।
एक वर्षअघि नै महाधिवेशनको तालिका प्रस्तुत गर्ने प्रस्तावलाई पार्टी संस्थापन पक्षले अस्वीकृत गरेको थियो। तर पछिल्लो जेनजी आन्दोलनपछि पार्टीलाई यथास्थितिबाट अघि बढाउन नसक्ने निष्कर्षसहित विकल्पमा विशेष महाधिवेशनको अभियान चलाइएको हो।
२०७९ पुस १० मा भएको संसदीय दलको नेता छनोटको प्रतिस्पर्धामा संस्थापनविरुद्ध समूहले गगन थापालाई अघि सारे पनि आफ्नै टिमका सात जना सांसदहरूले मत नदिँदा थापा देउवासँग ठूला मतान्तरले पराजित भएका थिए। देउवाले ६३ मत पाउँदा शेखर समूहका महामन्त्री थापाले मात्र २५ मत प्राप्त गरेका थिए।
संसदीय दलको निर्वाचनमा पाका नेताहरू एकतिर लागेको महसुस गर्दै थापा कोइरालासँग बिस्तारै टाढिँदै गएका थिए। त्यसबेला थापालाई दलको नेतामा चुनाव लडाउने र १५औँ महाधिवेशनमा शेखरलाई सभापति बनाएर जाने संस्थापनविरुद्ध समूहका नेताहरूबिच भद्र सहमति भएको थियो।
सभापति देउवाका निकट प्रतिस्पर्धी रहेका कोइरालाले त्यतिबेला ४० प्रतिशत मत प्राप्त गरेका थिए। देउवा सक्रिय भूमिकामा नरहने निश्चित भएपछि कोइरालाले आफूलाई ‘सर्वस्वीकार्य’ बनाउन प्रयास थालेका छन्। त्यस्तै, थापाले कुनै हालतमा कसैलाई नेतृत्व नछाड्ने गरी अघि बढेका छन्।
संस्थापन समूहको पेलान र शेखर समूहबाट समेत टाढिँदै गएका महामन्त्री थापाले आफ्नै नेतृत्वमा समूह निर्माण गर्ने र १५औँ महाधिवेशनमा सभापति बन्ने योजनाका साथ अघि बढेका छन्। नेता शेखरले पनि थापाको अनुपस्थितिमा आफ्नो समूहलाई मजबुद बनाउने संस्थापन पक्षका कतिपय नेताहरूलाई आफ्नो पक्षमा उभ्याइसकेका छन्।
पार्टीको आगामी नेतृत्वका लागि छुट्टै अभियान चलाएर हिँडेका नेता कोइराला र थापाबिच एजेन्डामा भने एकता देखिएको नेताहरूको दाबी छ।
२९ गतेबाट चलेको पार्टी केन्द्रीय समितिको बैठकमा अधिकांश नेताहरू नियमित महाधिवेशनको पक्षमा देखिए पनि मङ्सिर मै महाधिवेशन समय अपुग हुने हुँदा केही पर सार्ने विषयमा छलफल चलिरहेको छ। यसको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन्।
प्रतिक्रिया