इटहरी : शुक्रबार इटहरीमा पेसागत महासंघ सुनसरीले ‘जेनजी विद्रोहपछिको नेपाली समाज’ विषयक बहस कार्यक्रम आयोजना गर्यो ।
आन्दोलनपछि विषम परिस्थितिका बिच आयोजित विचार मन्थनले गत भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलन हनुको कारण र भविष्यमा समाज कता जाला भन्ने सन्दर्भ कोट्याउने प्रयास गरेको छ ।
केही जेनजी प्रतिनिधि समेत सहभागी गराएर आयोजना गरेको अन्तरक्रियामा प्रा.डा. बद्रीविशाल पोखरेल, डा.दिवाकर रेग्मी र प्रकाश राई वक्ता रहेका थिए । कार्यक्रमलाई प्रज्वल पराजुलीले सहजीकरण गरे ।
प्रकाश राई : ‘यो आन्दोलन होइन, विद्रोह हो’
वक्ता प्रकाश राईले जेनजी आन्दोलनलाई आन्दोलनभन्दा बढी “विद्रोह” का रूपमा परिभाषित गरे । उनका अनुसार, आजका युवाहरू केवल राजनीतिक नारा वा पार्टीको निर्देशनमा होइन, निराशा र असुरक्षाबाट प्रेरित भएर सडकमा उत्रिएका हुन् ।
राईले प्रश्न उठाए, “एउटा सक्कल दर्जाको, हजार सपना बोकेको युवक किन दुर्व्यसनमा फस्छ ? किन ऊ असामाजिक गतिविधितर्फ धकेलिन्छ ?” उनका अनुसार यसको कारण प्रणालीगत असफलता हो राज्य र समाजले युवा पुस्ताको सृजनशीलता र चाहनालाई ठाउँ नदिने प्रवृत्ति नै यो विद्रोहको प्रमुख कारण हो ।
उनले भदौ २३ गतेको उत्साह, २४ गतेको निराशा र २५ गतेको ‘बरबादी’ भयो भन्ने मानसिकता समेत बनेको उल्लेख गर्दै भने, “यो एउटा मनोवैज्ञानिक विस्फोट हो, जसले नागरिक चेतनाको नयाँ स्वर खोजेको छ ।” राईको धारणा स्पष्ट छ, यो पुस्ता विद्रोही छ किनभने उनीहरूले लोकतन्त्रमा आफूलाई प्रतिनिधित्व भएको महसुस गर्न सकेका छैनन् ।
डा. दिवाकर रेग्मी : ‘स्मार्ट पुस्ता, अ-स्मार्ट सरकार’
डा. दिवाकर रेग्मीले जेनजी पुस्तालाई “स्मार्ट समयको सन्तान” भनेर परिभाषित गरे । यो पुस्ता द्रुत, दक्ष र डिजिटल युगमा हुर्किएको छ, तर राज्यको संरचना अझै पुरानो ढर्रामा अड्किएको छ । “सरकार र संस्थाहरू अझै कागजी युगमा छन्, जबकि युवाहरू मोबाइल र एआईको युगमा,” उनले भने ।
उनले रोजगारी र आर्थिक अवसरको अभावलाई जेनजी असन्तोषको मूल कारण बताए । “हामी अझै भूमि आयोगमै अड्कियौँ, रोजगारी आयोगबारे सोचेनौँ,” उनले भने, “नेपालमै व्यवसाय गर्न चाहने युवालाई विदेशको कमाइसँग तुलना गर्यौँ, जसले उनीहरूमा हीनताबोध र निराशा बढायो ।”
रेग्मीको विश्लेषणमा जेनजी आन्दोलन आर्थिक असमानता र अवसरहीनताविरुद्धको आर्थिक विद्रोह पनि हो । उनी भन्छन्, “सरकारले स्मार्ट पुस्ताको सोच बुझ्न सकेन भने, विद्रोहको आँधी फेरि पनि उठ्नेछ ।”
प्रा.डा. बद्रीविशाल पोखरेल : ‘जेनजी उमेर होइन, चेतनाको अवस्था हो’
प्रा.डा. बद्रीविशाल पोखरेलले जेनजी पुस्तालाई उमेरको सन्दर्भमा मात्र होइन, चेतना र इच्छाशक्तिको प्रतीकका रूपमा व्याख्या गरे । “जेनजी भन्ने बित्तिकै केवल युवाको कुरा होइन,” उनले भने, “यो ऊर्जाको, आकाङ्क्षाको र परिवर्तनको सोच हो ।”
पोखरेलका अनुसार जेनजी पुस्तामा ऊर्जा र क्षमता प्रशस्त छ, तर राज्य र समाजले ती ऊर्जालाई दिशा दिन सकेको छैन । उनले भने, “जेनजीलाई दोष दिने होइन, उनीहरूलाई अवसर र विश्वास दिलाउने समय हो ।”
उनले चेतावनी दिए, “जेनजी भन्दैमा पुरानै प्रवृत्तिहरू दोहोर्याउने गल्ती नगरौं । उनीहरूलाई सुन्ने, सम्मान गर्ने र नेतृत्वमा ल्याउने संस्कार विकास नगरेसम्म यो ऊर्जाशक्ति विद्रोहमै परिणत हुनेछ ।”
त्यसैले, “जेनजी आन्दोलन” लाई दमन वा व्यङ्ग्यको नजरले होइन, सुधार र संवादको अवसरका रूपमा लिनु आवश्यक छ ।
प्रतिक्रिया