काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुर कार्यालयको टोलीले निगरानी गरेको थियो।
उक्त टोलीले यादवलाई सेवाग्राहीबाट रु। ७ लाख ३१ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अनुसन्धानपछि यादवले घुस मागी रकम लिएको प्रमाणित भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगोसहित कारबाहीको माग गर्दै विशेष अदालतमा आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया