काठमाडौं : नेपालको कुल जनसंख्याको आधाभन्दा बढी जनसङख्या ओगटेका महिलाहरु राज्यको अन्य निकायमा जस्तै पत्रकारितामा पनि एकदमै न्यून संख्यामा सक्रिय छन् । त्यसमध्ये फोटो पत्रकारितामा औंला गणना गर्न सकिने छन् । नेपालमा महिला फोटो पत्रकारहरुको एकीन तथ्याङ भेटाउन पनि सकिदैन ।
नेपाल पत्रकार महासंघका अनुसार नेपालमा महिला फोटो पत्रकारहरूको विशिष्ट संख्या उपलब्ध छैन । अन्य पेशाभन्दा चुनौतीपूर्ण रहेको फोटो पत्रकारितामा महिलाले आफ्नो सीपलाई देखाउन अलि बढिनै मिहेनत गर्नुपर्ने महिला फोटो पत्रकारहरु बताउँछन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै गोरखापत्र दैनिकको पहिलो महिला फोटो पत्रकार कविता थापाले आफ्नो अनुभव सुनाउँदै उनले गोरखापत्रमा जागिर सुरु गरेदेखि नै फिल्डमा फोटो पत्रकारहरु भेट्न मुस्किल पर्ने गरेको सुनाउछिन् ।
फोटो पत्रकारलाई मिडिया हाउसले क्यामेरा उपलब्ध नगराउँदा आर्थिक चुनौतीका कारण पनि महिलाहरु पलायन भएको उनको बुझाइ छ । उनले गोरखापत्रमा १२ वर्ष करारमा काम गर्दा आफूले पाएको तलवबाट क्यामेरा खरिद गरेर काम गरेको बताइन् ।
‘गोरखापत्रमा १२ वर्ष करार काम गरें । क्यामेरा थिएन । मैले आफैले क्यामेरा किन्नुपर्यो । जति तलब पाउँथे त्यसबाटै फिल्डमा दौडिन्थें । क्यामेरा आफै जोहो पर्दथ्यो । गोरखापत्र मात्र नभइ अधिकांश मिडिया हाउसले क्यामेर नदिने रहेछन् । क्यामेरा मात्रै उपलब्ध गराउँदा पनि पत्रकारलाई आर्थिक चुनौती कम हुने रहेछ,’ उनले भनिन् ।
फोटो पत्रकार थापा काम गर्दैगर्दा फिल्डमा सामान्य मानिने साना कुराले पनि अप्ठ्यारोमा परेको अनुभव सुनाउछिन् । महिनावारीको समयमा कार्यक्रम खिच्न जाँदा आयोजकले बस्ने सिटको व्यवस्था पनि नगर्ने गरेको गुनासो गरिन् ।
उनले भनिन्, ‘क्यामेरा पर्सन साथीहरू कतिपय महिला हुनुहुन्छ । उभिँदा जोसुकैको पनि खुट्टा गल्छ, महिलालाई त झन् थप मेन्सुरेसनको समस्या हुन्छ । ब्लिडिङको समस्या हुन्छ । बस्नुपर्ने हुन्छ । मेन्सुरेसन भएको छ अथवा हेभी मेन्सुरेसन भएको, ब्लिडिङ भएको छ भनेर बिदा पाइँदैन्,’ उनले थप भनिन्, ‘अब यो टेक्निकल काम पनि भएर होला, यस्ता कुरामा कसैले सामान्य पनि सोच्दैन्न । म छक्क पर्छु ।’
हक्की स्वाभावकी थापा काम गर्ने स्थलमा हुने दुर्व्यवहारका विरुद्ध प्रतिक्रिया दिनुपर्ने बताउँछिन् । प्रधानमन्त्रीकै कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्दघाटनका दिन नराम्रो स्पर्शका कारण मन्त्रीकै सुरक्षाकर्मीसँग विवाद परेको घटना पनि सुनाइन् ।
‘एकचोटी मंैले प्रधानमन्त्रीकै कार्यक्रममा १६ दिने अभियानको भर्खर सुरुवातको दिन थियो । हामी आफ्नै पोजिसनमा बसिराखेका थियौँ । म अलि अगाडि गएर खिच्न पुगेँ । यसपछि मलाई सुरक्षाकर्मीले तान्नुभयो । मैले त एक झापड दिइहालेछु । मलाई किन छोइस भनेर भन्न आइहालेछ । महिला हिंसाविरुद्धको १६ दिने अभियान तपाईंले मलाई हिंसा गर्न पाउनुहुन्छ ? चाहे तपाईं प्रधानमन्त्रीकै होस् अथवा मन्त्रीकै सुरक्षाकर्मी जिउमा छुने अधिकार कसैलाई छैन भनिदिए,’उनले स्मरण गरिन् ।
थापाले खिचेका धेरै फोटोहरुले सम्मान र पुरस्कार प्राप्त गर्न सफल भएका छन् । उनले खिचेका फोटो पाकिस्तानको प्रदर्शनीमा समेत राखिएको थियो । उनी सकारात्मक सन्देश दिने फोटो खिच्न रुचाउने भएकाले मानिसलाई प्रेरणा दिने फोटोहरुले आफूलाई चिनाएको बताइन् ।
उनको पहिलो पुरस्कार पाएको फोटो थियो, एकजना महिला ग्यासको सिलिन्डरमाथि बच्चा बोकेर हिंड्दै गरेको फोटोले पुरस्कार २५ हजारसहित लैगिक महिला, लैगिक उत्तरदायी पुरस्कार पाएको थियो ।
उनले भनिन्, ‘बबहरमलमा एकजना महिला ग्यासको सिलिन्डरमाथि बच्चा बोकेर जाँदै हुनुहुँदो रहेछ । मैंले हतारमा क्यामेरा झोलामा रहेकाले मोबाइलले खिचेँ । अब त्यो फोटो मैंले गोरखापत्रको अनलाइनमा राखें । त्यो फोटोले पहिलो पटक पुरस्कार पायो ।’
थापालाई मनपर्ने उनले खिचेको अर्को फोटो हो, जाजरकोट भूकम्पको समयमा हस्पिटलमा ठाउँ नभएर सुत्केरी हुनेबितिकै डिस्चार्ज भएर बाटोमा हिडिरहेकी सुत्केरी महिलाको । उनले त्यस फोटोमार्फत राष्ट्रिय फोटो पत्रकार समूहबाट उत्कृष्ट महिला फोटो पुरस्कार समेत पाएकी छन् ।
यस्तै नेपाल न्यूज बैंकसँग कुरा गर्दै लामो समय फोटो पत्रकारिता गरिरेहेकी वर्षा साहले आफू सानैदेखि फोटो खिच्न मन पराउने स्वभावको भएकाले यही पेशा रोजेको सुनाइन् ।
राजनीतिक कार्यक्रमदेखि सामाजिक घटनाहरुको फोटो खिच्न रुचाउने वर्षा घरपरिवारको राम्रो साथ पाए महिलाहरुको राम्रो अवसर पाउने बताउँछिन् ।
सिमित समय नतोकिने भएकाले यस क्षेत्रमा काम गर्न गाह्रो भए पनि सम्भावना बोकेको उनले बताइन्।
‘महिलाहरूलाई बाहिरको कामदेखिका धेरै जिम्मेवारीहरू हुन्छन् । चुनौती धेरै हुन्छन् । बालबच्चा भयो भने अझ धेरै चुनौतीहरू हुने रहेछन् । सबैका परिवारले पनि साथ दिदैँनन्,’ उनले भनिन्, ‘कुनै घटना वा चुनावको समयमा काउन्टिङ हुन्छ । हामीहरू वेट गरेर बस्छौँ रातभरी । त्यस्तोबेला परिवारको सर्पोट चाहिने रहेछ ।’
उनले खिचेको फोटोमा उनीलाई मन पर्ने फोटो एकजना पत्रकार महिलाले आमाको क्रिया गरेको कथाको लागि खिचेको फोटोमा धेरै जनाको सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।
‘एकजना पत्रकार बहिनीले आफ्नो आमाको किरिया गरेको स्टोरी एउटा गरेको थिएँ, त्यस फोटोको कारण धेरै जनाले मलाई म्यासेज गरेर राम्रो प्रतिक्रिया दिनुभएको थियो,’ उनले भनिन् ‘ती लगायतका थुप्रै त्यस्ता घटनाहरू त छन्, जुन मैले खिचेको छु ।’
प्रतिक्रिया