प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौँ : मिराज ढुङ्गाना

शनिबार, ०१ कार्तिक २०८२

काठमाडौँ । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुङ्गानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन् ।

शनिवार काठमाडौँमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे । ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौँ, विकासवादी हौँ,’ढुङ्गानाले भने ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्‍याए । ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’उनले भने ।

ढुङ्गानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पुरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए ।

‘बटम लाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नपर्छ । यो विना हामी कतै जाने वाला छैनौँ,’ढुङ्गानाले स्पष्ट भने ।

ढुङ्गानाले अहिलेको अवस्थालाई ‘भाँडभैलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । ‘हामी भाँडभैलो मच्चाउन आएका होइनौँ । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार