माटोको भाँडा बनाउने परम्परा लोप हुने अवस्थामा, भक्तपुरका कुम्हारहरु चिन्तित

शनिबार, ०१ कार्तिक २०८२

काठमाडौं। देशभर तिहारको रौनक सुरु भइसकेको छ। घर–घरमा बत्ती बाल्ने, रंगोली सजाउने र दियो बाल्ने तयारीले बजार भरिभराउ छन्।

तर भक्तपुरको ऐतिहासिक ‘पोटरी स्क्वायर’ भने पहिलाजस्तो उमंगले नभइ चिन्ताले ढाकिएको छ। यहाँका कुम्हारहरू, जसले दशौं वर्षदेखि माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन्, अहिले आफ्नो परम्परागत पेशा जोगाउन संघर्षरत छन्।

पहिले तिहार आउनु केही हप्ता अघिदेखि नै माटोका दियो (पाला), ग्राग्रो, गमला, खुत्रुके, धूपदानीलगायतका भाँडाहरू बनाउन व्यस्त हुने पोटरी स्क्वायर अहिले सुस्त देखिन्छ। माटोको भाँडाको माग घट्दै गएको छ, किनकि बजारमा अहिले प्लास्टिक र चीनबाट आयातित पालाले यसको ठाउँ ओगटिसकेका छन्।

३५-३६ वर्षदेखि यही काम गर्दै आएका रोसन प्रजापतिले पहिला पाँचछ लाखको अर्डर आउने गरेपनि यस बर्ष जम्मा दुई लाख रुपैंयाँको मात्र अर्डर आएको बताउँछन्। उनका अनुसार चाइनिज बत्तीहरुका कारण व्यापार घट्दै गएको छ।

उनले भने, ‘यो हाम्रो पुख्र्यौली पेसा हो। बाजे-बुबाले गर्नुभयो। अनि मंैले पनि यही बाटो समाएँ। पहिला पहिला ठिकै थियो, तिहार नजिकिँदा पाँचछ लाखको अर्डर आउँथ्यो, तर यसपली त दुई लाख मात्र अर्डर आएको छ। हाम्रो माटोको दियो बाल्न मेहेनत चाहिन्छ, तेल हाल्नुपर्छ, बाती राख्नुपर्छ, तर चाइनिज बत्तीमा त सुइच अन गरे पुग्छ। मान्छेहरू सजिलो खोज्छन्, यही कारणले हाम्रो व्यापार घट्दै गएको हो।’

उनले थपे, यदि स्थानीय निकायले माटोको दियोको प्रयोग गर्नुपर्छ भनेर प्रचारप्रसार गरिदिए सजिलो हुनेथियो। भारत र चीनबाट सस्तोमा सामान आउँछ, त्यसले हाम्रो बजार खोस्छ। बाहिरको वस्तु भित्र ल्याउन नदिएर, यहाको उत्पादनलाई प्राथमिकता दिनुपर्छ।

यस्तै, रञ्जना प्रजापति पछिल्ला पाँच-छ वर्षदेखि माटोको भाँडाको व्यापारमा छिन्। उनी पनि चाइनिज बत्ती र सस्तो भारतका दियोले बजार ओगटेको भन्दै गुनासो गर्छिन्।

उनले भनिन्, ‘तिहारको बेला माग राम्रै हुन्थ्यो तर अहिले त्यो कम हुँदै गएको छ। चाइनिज बत्ती र सस्तो भारतका दियोले बजार ओगटेका छन्। यदि सरकार वा उपभोक्ताले हाम्रो लोकल समानलाई प्राथमिकता दिए भने पैसा नेपालमै रहन्छ, अर्थतन्त्रमा पनि सुधार हुन्छ।’

त्यसैगरी, सज्जन प्रजापति जो आफ्नो बुबाले गरेको व्यापार सम्हालेर बसेका छन्। उनी पनि चाइनिज बत्तीको कारण व्यापार निकै घटेको गुनोसो गर्दै माटो भाडाको परम्परालाई जोगाउन माटोको दियोलाई प्राथमिकता दिनुपर्ने बताउँछन्।

उनले भने, ‘यो त हाम्रा बुबा बाजेलगायत सानो हुँदादेखि गरेको काम हो। अहिले विद्युतीय एवम चाइनिज बत्तीको कारण व्यापार निकै घटेको छ। यो परम्परालाई जोगाउन यहाँका मान्छेले माटोको दियो प्रयोग गर्ने बानी बसाल्नुपर्छ।’

तर सबैको दृष्टिकोण नकारात्मक छैन। शिव प्रसाद प्रजापति अलि आशावादी देखिन्छन्। उनका अनुसार बीचमा प्लास्टिकका भाँडाले बजार थिचेपनि अहिले फेरि केही मानिसहरू माटोको दियोमा फर्किँदै छन्।

उनले भने, ‘हाम्रो यो पुर्खादेखिको काम हो। प्रजापतीहरूको पहिचान नै माटोको भाँडा हो। दियो त केवल तिहारका लागि होइन, अहिले त १२ महिना चल्छ। माग त अहिले पनि छ, हामीले मौसमअनुसार उत्पादन गर्नुपर्छ। बीचमा प्लास्टिकका भाँडाले बजार थिचेको थियो, तर अहिले फेरि केही मानिसहरू माटोको दियोमा फर्किँदै छन्।’

यद्यपि, बजारमा हुने प्रतिस्पर्धा र सस्तो मूल्यका विदेशी वस्तुले स्थानीय उत्पादनको मागमा गम्भीर असर पारेको छ। पहिला हरेक घरमा माटोको दियो बालिन्थ्यो, अब बिजुलीका झिलिमिलीले सहर उज्यालो बनाउँछन्। विद्युतीय बत्ती, मैनबत्ती र प्लास्टिकका सामग्रीले परम्परागत दियोको स्थान कब्जा गर्दै गएका छन्।

कुम्हारहरूले भन्ने गर्छन्, तिहारको समयमै उनीहरूको वार्षिक आम्दानी हुने प्रमुख अवसर हो। तर अहिले त्यो पनि घट्दो क्रममा छ। पहिला सहरका हरेक पसल, मन्दिर र घरहरूबाट अर्डर आउँथ्यो, अहिले भने अर्डर आधाभन्दा पनि कम भएको छ।

पोटरी स्क्वायरका गल्लीहरूमा पहिले माटोको गन्ध मिसिएको हुन्थ्यो, हातमा माटो मोल्नेहरू दिनरात काममा व्यस्त हुन्थे। अहिले त्यही ठाउँमा केहीमात्र मानिसहरू काम गर्दै छन्।

कतिपयले कामै छोडेका छन्, केहीले वैकल्पिक रोजगारी खोज्दैछन्। तर अझै पनि केही कुम्हारहरू परम्पराको रेखा नछोड्ने दृढतामा छन्। उनीहरू विश्वास गर्छन् । यदि उपभोक्ताले परम्पराको मूल्य बुझ्ने हो भने, माटोको दियो फेरि उज्यालो बन्न सक्छ।

रोशन प्रजापतिको अन्त्यमा भनाइ नै सबैको भावना झल्काउँछ, ‘कहिले काहीँ लाग्छ कामै छाडौं, तर अरु गर्न केही छैन। माटोको दियो हाम्रो संस्कृतिको प्रतिक हो, यो हरायो भने हाम्रो पहिचान नै हराउँछ।’

विद्युतीय बत्तीले सहर उज्यालो पार्दैछ, तर पोटरी स्क्वायरका माटाका दियोहरू भने अँध्यारो हुँदै गएका छन्। नेपालको मौलिकता र परम्परालाई जोगाउन माटोको दियो मात्र होइन, त्यस पछाडिका कुम्हारहरूको जीवन पनि उज्यालो पार्न अब राज्य र समाज दुवैको जिम्मेवारी बनेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार