धरान । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामा (राजकुमार तामाङ) लाई निलम्बन गरेका छन्। बम विस्फोटसँग सम्बन्धित पुरानो घटनाको अनुसन्धानका लागि प्रहरीले लामालाई नियन्त्रणमा लिएपछि अनुसन्धान प्रक्रियामा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले निलम्बन गरिएको अध्यक्ष साम्पाङले बताएका छन्। अनुसन्धानको अन्तिम निष्कर्ष नआएसम्मका लागि लामालाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको हो।
अध्यक्ष साम्पाङले आज बिहान सार्वजनिक गरेको भिडियो सन्देशमार्फत राज्यको निष्पक्ष अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै गलतलाई गलत र सहीलाई सही भन्ने आफ्नो अडान स्पष्ट पारेका छन्। उनले राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै दोषी ठहरिए कानुनअनुसार कारबाही हुनुपर्ने र निर्दोष भए अनावश्यक दुःख दिन नहुने धारणा राखे।
उनले अनुसन्धानलाई सहज बनाउन र नैतिक जिम्मेवारीका आधारमा निलम्बन गरिएको जानकारी दिँदै निर्दोष साबित भएर बाहिर नआएसम्मका लागि पार्टीको पदबाट निलम्बन गरिएको स्पष्ट पारे। दोषी करार भए पार्टीबाट मुक्त गरिने र निर्दोष ठहरिए पुनः स्वागत गरिने अध्यक्ष साम्पाङको भनाइ छ।
यस विषयमा पार्टीले केन्द्रीय कार्य समितिको तर्फबाट आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गरेको छ। विज्ञप्तिमा उपाध्यक्ष लामालाई २०८२ मंसिर १ गते प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएपछि तत्काल निलम्बन गर्ने निर्णय गरिएको उल्लेख छ।
उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता भएको र विगतमा सशस्त्र द्वन्द्वमा संलग्न रहेको जानकारी रहे पनि अहिलेको पक्राउको समय र सन्दर्भप्रति अध्यक्ष साम्पाङले आशंका व्यक्त गरेका छन्। उनले लामाले विगतमा जेल सजाय भुक्तान गरिसकेको कुरा सार्वजनिक रूपमा आएको पनि बताए।
अध्यक्ष साम्पाङले कुनै पनि राजनीतिक षड्यन्त्र भए पनि पार्टी विचलित नहुने र देश तथा जनताको पक्षमा निरन्तर काम गरिरहने बताए।

प्रतिक्रिया