एसियन हाइवेको पूर्वी खण्डमा धमाधम कालोपत्रे हुँदै : अहिले सम्म कति भयो काम ?

शनिबार, ०१ कार्तिक २०८२

 झापा : निर्माणाधीन एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ । काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटरमध्ये दुई दशमलव पाँच किमी सडकमा कालोपत्रे सुरु गरिएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) ले जनाएको छ । 

बिर्तामोड,मेचीनगर,शिवसताक्षी र कमलका केही स्थानमा तीव्र गतिमा भइरहेको छ । सडक आयोजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताए ।

“काम तीव्र गतिमा भइरहेको छ”, उनले भने, “पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको गति बढाएको छ ।

वर्षा सकिएको छ, अब चाडपर्व पनि सकिएपछि कामको गति अझै बढ्छ ।” उनले पहिलो सतहको कालोपत्रे भएको सडकमा माथिल्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्रे थपिने जानकारी दिए ।

एसियाली विकास बैङ्कको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वी खण्डअन्तर्गत काँकडभिट्टाबाट केरखाको सीतापुरीसम्मको स्तरोन्नति कार्य जारी छ ।

निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ को निर्माण सम्पन्न गरिसकेको जनाएको छ । यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण पनि धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताए ।

उनका अनुसार मेचीनगरको चारआली चोकबाट पूर्वतर्फ २५१ मिटर, पश्चिमतर्फ २२६ मिटर र बिर्तामोडको चारपानेमा चोकबाट पूर्वतर्फ २०७ मिटर, पश्चिमतर्फ ३०८ मिटर ‘ओभरपास’ निर्माण धमाधम भइरहेको छ ।

आधुनिक ढाँचामा निर्माण भइरहेको ओभरपासमा मानिस र सवारीसाधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ बनाइने उनले बताए । मेचीनगरको चारआलीअन्तर्गत जङ्गल क्षेत्रमा पर्ने सडकमा हात्तीसहित जङ्गली जनावर ओहोर–दोहोर गर्नका लागि ‘एनिमल अन्डरपास’ पुल निर्माण भइरहेको उनले जानकारी दिए ।

पूर्वी खण्डको १८ वटा पुलमध्ये अधिकांशको काम भइरहेको आयोजना प्रमुख पन्तको भनाइ छ । सङ्घीय सरकारले काँकडभिट्टाबाट केरखासम्मको पूर्वी सडक खण्ड निर्माणका लागि दमकमा र केरखाबाट इटहरीसम्मको पश्चिमी सडक खण्डको निर्माणका लागि इटहरीमा कार्यालय स्थापना गरेको छ ।

हालसम्ममा सो सडक खण्डको भौतिक प्रगति २७ प्रतिशत रहेको आयोजना प्रमुख पन्तले जानकारी दिए ।

सरकारले काँकडभिट्टा–लौकही सडकको ९५ दशमलव ७६ किलोमिटर क्षेत्रमा एसियन हाइवेको निर्माण अघि बढाएको भन्दै उनले सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक बन्ने उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार