उर्लाबारीका मेयर खरेलमाथि नगरपालिका परिसरमै मुक्का प्रहार

सोमबार, १२ कार्तिक २०८१
विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि सोमबार अपरान्ह नगरपालिका परिसरमै दुर्व्यवहार एवं हातपात भएको छ । नगरपालिकाको कार्यपालिका बैठक सकेर बाहिरिन खोज्दै गर्दा अपरान्ह ४ः४५ बजेतिर नगरपालिका परिसरमै उनीमाथि दुर्व्यवहार भएको हो । उनलाई उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय मिलन भण्डारीले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । अनुहारमा मुक्का प्रहार गरिएको भए पनि मेयर खरेललाई चोटपटक भने लागेन । आक्रमणमा संलग्न भण्डारीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पक्राउ गरेको छ । प्रहरी हिरासतमा रहेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी छ । मेयरमाथि मुक्का प्रहार गर्नुको कारण नखुलेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नगरपालिकाका एक कर्मचारीका अनुसार मुक्का प्रहार गर्नुअघि मेयर खरेलसँग भण्डारीको भेट भएको थियो । उनले योग शिविर सञ्चालनका लागि भनेर मेयरसँग पैसा माग गरेका थिए । मेयर खरेलले प्रक्रिया पूरा गरेर सहयोग गर्ने आश्वासन दिए । तत्काल पैसा नपाएको झोंकमा आक्रमण गरेको हुनसक्ने अनुमान छ । भण्डारी उर्लाबारी–७ का पुराना व्यवसायी हुन् । पछिल्लो समय थेरापी सेवा सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार