धरानमा मादक पदार्थ सेवनपछि खुकुरी प्रहार: एक घाइते, बुबा-छोरा पक्राउ

आइतबार, ०३ चैत्र २०८१
धरान : सुनसरीको धरान उपमहानगरपालिका १९ खिमदिङमा मादक पदार्थ सेवनपछि विवाद हुँदा खुकुरी प्रहार गरी एक व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न बुबा छोरा पक्राउ परेका छन्। शनिबार राति करिब ८ बजे स्थानीय ४३ वर्षीय मिलन थापा मगरमाथि सोही ठाउँका ५९ वर्षीय हिरालाल विश्वकर्मा र उनका २५ वर्षीय छोरा हस्त बहादुर विश्वकर्माले मदिरा सेवनपछि विवाद गरी खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट थापा मगरको बायाँ गाला र टाउकोमा चोट लागेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय (इप्रका) धरानबाट प्रहरी निरीक्षक निलम चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरानमा उपचारका लागि पठाएको छ। हाल घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न हिरालाल विश्वकर्मा र उनका छोरा हस्त बहादुर विश्वकर्मालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार