संखुवासभा : हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

विहीबार, ०७ चैत्र २०८१
विराटनगर । संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुरले व्यक्तिको हत्या गरेर २० वर्षदखि फरार रहेका १ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चैनपुर नगरपालिका–९ (साविकको बानेश्वर गाविस–६ खाम्लिङ)का ५१ वर्षीय चतुरमान तामाङलाई पक्राउ गरिएको हो । व्यक्तिको हत्यासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेका तामाङलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा २० वर्षपछि गत मंगलबार पक्राउ गरिएको लामिछानेले बताए । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको इन्स्पेक्टर देउप्रसाद लिम्बू नेतृत्वको टोलीले पक्राउ गरेर अदालतमा बुझाएको हो । प्रहरीले बुझाएपछि अदालतले तामाङलाई सजाय भुक्तानका लागि जिल्ला कारागार खाँदबारी चलान गरेको छ । तामाङले २०६१ साल चैत २२ गते भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको प्रहरीले जनाएको छ । विकको हत्यापछि तामाङ भागिरहेका थिए । जिल्ला अदालत चैनपुरले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । मुद्दाको फैसला २०६७ साल कात्तिक १७ गते भएको हो । तर, सजाय भुक्तान नगरिकन तामाङ २० वर्षदेखि फरार भइरहेका थिए । विभिन्न ठाउँमा लुकिछिपी बसेका उनी केही समयअघि मात्रै गाउँघरमा आएको सूचना प्रहरीले प्राप्त गरेको थियो । संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान चलाइएको बताए । फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको फैसला कार्यान्वयनमा प्रहरीले विशेष भूमिका खेलिरहेको जानकारी बस्नेतले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार