विराटनगरको क्यासिनोमा झडप प्रकरण : अभिषेक गिरीका सहयोगी पक्राउ

शुक्रबार, ०८ चैत्र २०८१
विराटनगर : गएको आइतबार राती विराटनगरस्थित रत्ना होटेलको सम्राट क्यासिनोमा भएको झडप प्रकरणमा प्रहरीले विराटनगरमा बस्दै आएका राजु श्रेष्ठलाई पक्राउ गरेको छ । झापाको गौरादह घर भई विराटनगरमा बस्दै आएका ३८ वर्षीय श्रेष्ठलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ होटेल रत्नामा रेखदेख गर्ने गर्दछन् । आइतबार राति क्यासिनोको विषयमा विराटनगरका अभिषेक गिरीको समूहसँग किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो । घटनापछि क्यासिनो सञ्चालकको भूमिकामा रहेका ३८ वर्षीय श्रेष्ठसँग प्रहरीले क्यासिनोको सीसी टिभी फुटेज मागेको थियो । तर, उनले प्रहरीलाई फुटेज दिएनन् । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् । जोशीका अनुसार गिरी र श्रेष्ठ एउटै मुद्दामा कैद भुक्तान गरी छुटेका समेत हुन् । अच्युतप्रसाद रेग्मीलाई अपहरण गरी १० लाख फिरौती असुलेको आरोपमा २०७१ सालमा गिरीसहित झापाका मिलन लिम्बू, राजु श्रेष्ठ, काठमाडौंकी शारदा सिलवाल भन्ने कवितादेवी शाक्य पक्राउ परेका थिए । अपहरण मुद्दामा गिरी र श्रेष्ठलाई ९ वर्ष कैदको फैसला भएको थियो । ९ वर्ष कैद भुक्तानपछि गिरी २०७९ चैत ६ गते कारागारबाट छुटेका थिए । कारागारबाट छुट्नुअघि चौकीदारको भूमिकामा रहेका गिरीले कारागारभित्रको रेखदेख गर्ने जिम्मा श्रेष्ठलाई दिएका थिए । गिरी छुटेको केही महिनापछि श्रेष्ठ पनि कैद भुक्तान गरेर छुटे । त्यसपछि उनी गिरीको समूहमा सक्रिय रहेको बताइन्छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर, निर्बाध रूपमा नेपाली छिरेर ‘जुवा’ खेल्दा पनि नियन्त्रण गर्नुपर्ने निकाय मूकदर्शक भएर बसेका छन् । जहाँ प्रशासनदेखि स्थानीय सरकारसमेतको मिलेमतो रहेको आरोप लाग्ने गरेको छ । क्यासिनोमा गिरीको समूहसँग किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो । कुटाकुटमा गिरी सामान्य घाइते छन् । कँडेल र लामा पनि घाइते भएका थिए । घटनाको भोलिपल्ट गिरीका भतिज निकेश गिरीले आफूमाथि हातपात भएको भन्दै कँडेल र लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका थिए । कँडेलको परिवारबाट पनि प्रहरीमा जाहेरी परेको छ । गिरीको समूहले मध्यरातमा घरमा जबरजस्ती प्रवेश गरी धम्की दिएको भन्दै उजुरी परेको हो । प्रहरीका अनुसार आइतबार रातिको झगडापछि राति नै लामा र कँडेल भागेका थिए । रत्नाको घटनापछि मध्यरातमा गिरीको समूह उनीहरूलाई खोज्दै दुवैको घरमा पुगेको थियो । घरमा नभेटेपछि ‘जे पनि हुनसक्ने’ भन्दै धम्की दिएपछि कँडेलको परिवार प्रहरीसम्म पुगेको थियो । अहिले प्रहरीले दुवै पक्षलाई खोजिरहेको बताएको छ । ‘दुवै तर्फबाट उजुरी आएको छ । निवेदन दर्ता गरेर मान्छे खोज्दैछौं । प्रहरीले आफ्नो ढङ्गले अनुसन्धान गरिरहेको छ,’ डिएसपी जोशीले भने ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार