रौतहट । भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनिया नागरिक पक्राउ परेका छन्।
मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनिया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखानालाई बताए ।
भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा अवैध रूपमा भारतीय क्षेत्रबाट चारै जना चिनिया नागरिक लाई पक्राउ गरेको एसपी प्रभातले बताए । भारतीय क्षेत्रमा प्रवेश गर्दै गर्दा पक्राउ परेका चिनिया नागरिक माथि हरैया थानामा (प्राथमिकी) एफआईआर दर्ता गरी अनुसन्धान तथा कारबाही सुरु गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।
चारै जना नेपाल सीमाबाट अवैध रूपमा भारत प्रवेश गरिरहेका थिए। पक्राउ परेका मध्ये एक जना महिला पनि छिन्। उक्त महिलाले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। हाल उनीहरू मोतीहारी प्रहरीको नियन्त्रणमा लिएर सुरक्षा एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्।
चारै जना भारतीय नागरिकलाई आज जिल्ला अदालत मोतीहारीमा उपस्थित गराइने भारतीय प्रहरीको योजना रहेको छ। पक्राउ परेकी महिलाले आफूलाई नेपालको नागरिक भएको दाबी गर्दै हिन्दी, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी प्रहरीको भनाई छ। उक्त महिलासँग पाकिस्तानी नम्बरहरू फेला परेकाले महिलाको सम्बन्ध पाकिस्तानसँग हुनसक्ने भारतीय प्रहरीको अनुमान छ।
ती चारै जना चिनियाँ नागरिक एक हप्तादेखि नेपालको राजधानी काठमाडौँमा बसेर बुधवार किन अवैध रूपमा भारत प्रवेश गर्न खोजेको हो अनुसन्धानको विषय रहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले विशेष रूपमा सोधपुछ गरिरहेको बुझिएको छ।
भारतीय सेनाले पाकिस्तान माथि मङ्गलवार राती अपरेसन सिन्दूर चलाएपछि अवैध घुसपैठ हुनसक्ने आशङ्कामा नेपालका सशस्त्र प्रहरीका साथै भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत र नेपालको सिमाना हाई अलर्ट बनाएको छ। भारतीय सीमामा नेपालबाट आउने र जाने सबै मानिसहरूको निगरानी तथा राम्ररी जाँच भइरहेको छ । भारत प्रवेश गर्ने मानिसको एसएसबिले अनिवार्य परिचयपत्र जाँच गरिरहेका छन्।
प्रतिक्रिया