काठमाडौं : वसन्त ऋतुमा जारी सगरमाथा आरोहण प्रतिकूल मौसमले प्रभावित बनेको छ । तीव्र गतिको हावा चलेपछि सोमबारका लागि तय गरिएको आरोहण स्थगित भएको हो ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमले सगरमाथामा चर्को हावा चलेपछि आरोहण रोकिएको पुष्टि गरे । आधार शिविरमा रहेका विभागका प्रतिनिधि पासाङ भोटेका अनुसार, खराब मौसमले मे १४ र १५ का आरोहण योजनासमेत प्रभावित हुने देखिएको छ ।
दोस्रो र तेस्रो शिविरमा रहेका आरोही सुरक्षितस्थलमा फर्किन थालेका छन् । केही आरोही मौसम अनुकूल हुने आशामा शिविरमै रोकिएका छन् । विभागका अनुसार अबको ३–४ दिन मौसम सुधारको सम्भावना छैन । सम्भवतः मे १८ देखि फेरि आरोहण सुरु हुने अपेक्षा गरिएको छ।
हालसम्म चार समूहका केही आरोही मात्र सगरमाथाको चुचुरोमा पुगेका छन् । तीनमा दावा फुञ्जो शेर्पा, फुर्साङ शेर्पा, बेलायती आरोही मिचेल डाक्रे, इक्वेडरका पेट्रिसियो एरेभालो र नेपालका अन्य शेर्पा सामेल छन् ।
याममा सगरमाथासहित २६ हिमाल आरोहणका लागि १,१२७ जनाले अनुमति लिएका छन् । तीमध्ये ४५ समूहका ४५६ जनाले सगरमाथा आरोहणको अनुमतिपत्र लिएका छन् ।
प्रतिक्रिया