झापा : आफनै धर्मछोरीलाइ बलात्कारको गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी लाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ ।
धर्मछोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका शिवाकोटीमाथि उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि बलात्कारको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । तर, शिवाकोटी कारागार नगईकन अस्पताल भर्ना भएर पाँच महिनादेखि अस्पतालमै बसेका थिए ।
‘प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षौंदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत तीन वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सो भन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटक पटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइदैन,’ अदालतको आदेशका भनिएको छ,‘ यी पीडित आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्र मिति २०८१–०८–१५ को जवरजस्ती करणीको वारदात देखाई मिति २०८१–०८–२४ मा जाहेरी परेको देखिन्छ ।’
नेकपा एमालेबाट यसअघि मेयरमा निर्वाचित भएका शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ गते जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । तर, अदालतले थुनामा पठाउने आदेश दिएपनि शिवाकोटीले कारागार नबसीकन धरौटीमा छुटेका छन् ।
खासगरी राजनीतिक पहुँचका आधारमा उनी बिर्तामोडको बिएण्डसी अस्पतालमा पाँच महिनादेखि बसिरहेका थिए ।
‘प्रतिवादीकै संरक्षणमा बसी प्रतिवादीले सातवर्ष देखी सहयोग गर्दै आएको र निज प्रतिवादीकै कारण भविष्य उज्वल भएको भनी वारदात भएको भनिएको भोलिपल्ट अर्थात मिति २०८१–०८–१६ मा विर्तामोड नगरपालिकामा स्वयम् पीडितले निवेदन दिएको मिसिल संलग्न प्रमाण कागजबाट देखिन आउँछ,’ आदेशमा भनिएको छ,‘ विगत तीन वर्षदेखी प्रतिवादीले जबरजस्ती करणी भएको भनिएकोमा प्रतिवादीकै घरमा बसी पीडितसँगै एउटै कोठामा सुत्ने आफ्नो साथीहरूलाई सो तथ्य कहिले पनि खुलाएको देखिन आउँदैन ।’
शिवाकोटी यसअघि पक्राउ पर्नेबित्तिकै प्रहरी हिरासतमासमेत नबसीकन अस्पतालमै बसेका थिए ।
प्रतिक्रिया