सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ फुलचौकस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।
यसरी पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका-६ फत्तेपुर बस्ने ३२ वर्षीय प्रदीप बिक रहेका छन् ।
मंगलबार साँझ ६:३० बजे प्रहरी बरिष्ठ नायब निरिक्षका अशोक कोईरालाको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेका बिकलाई शंका लागि रोकेर जाँच गर्दा उनको साथबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको हो।
बिकले बोकेको झोलाबाट लुकाइछिपाइ ल्याउँदै गरेको लागू औषध ट्राडामोल १ हजार १९० ट्याबलेट र स्पास्पेन १ हजार ०२८ ट्याबलेट फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया