बिल नभएको सामान बोकेको ट्रक राजस्व कार्यालय इटहरीबाट ३४ लाख धरौटीमा छुट्यो

मंगलबार, ०२ मंसिर २०८२

इटहरी: इटहरीमा राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको बिना बिल–बीजक मालसामान बोकेको पूर्वाञ्चल करियर्सको मालवाहक ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटी बुझाएर छुटाइएको छ। 

झापाबाट काठमाडौँतर्फ हिँडेको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको उक्त ट्रक राजस्व अनुसन्धानको विशेष सूचनाका आधारमा असोज ७ गते इटहरीबाट नियन्त्रण लिइएको थियो।

सो ट्रक चेकजाँचको क्रममा ट्रकभित्र भारतमा निर्मित डेरी मिल्क चकलेटका हजारौँ पिसदेखि १२० थान मिक्सचर ग्राइन्डर, सयौँ किलो काजु–केराउ, पाउडर मिल्क, गुडरिक चिया, भेष्ट र कफी दानासम्मका सामग्री भेटिएका थिए।

 यति ठूलो परिमाणमा सामान बरामद भए पनि चालकसहित करियर्सका प्रतिनिधिले कुनै पनि बिल–बीजक, कर तिरेको प्रमाण वा वस्तुको कानुनी स्रोत पेस गर्न नसकेपछि सामानलाई ‘बिना बिल’ ठहर गरिएको कार्यालयले जनाएको छ।

 कार्यालयका अनुसार ट्रक चालक सँग मागिएको बिल, पार्सल नोट, बीजक वा भन्सार कागजातमध्ये एउटा पनि देखाउन सकेनन् । 

करियर्स कार्यालयमा झिकेर कागजात मिलान गर्दा समेत उक्त सामग्री  ट्रान्सपोर्टको लगबुकमा, गोदामको अभिलेखमा भेटिएन । “स्रोत खुल्न नसकेपछि स्वतः तस्करी प्रक्रियामा फाइल चल्छ,” कार्यालयका एक अधिकारीले भने।

अनुसन्धानको क्रममा ट्रकमा १,५०० केजी सेतो भटमासको बिल समेत भेटिएको भएपनी भटमास भने गाडीमा भेटिएन । बाहिर कागज एउटा देखाएर भिन्न सामान ढुवानी गर्ने यो तरिका तस्करीमा प्रयोग हुने सामान्य शैली रहेको अधिकारीहरूले दाबी गरेका छन्।

 सामानका वास्तविक धनीसमेत प्रस्तुत हुन नसकेपछि पूर्वाञ्चल करियर्सले कानुनअनुसार धरौटी बुझाएर ट्रक लगेको हो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका सूचना अधिकारी बिदुर गौतमका अनुसार ‘बिना बिल’ ठहर गरिएका सबै प्रकारका माल सामग्री जफत गरिएको र ट्रक ३४ लाख ६२ हजार रुपैयाँ धरौटीमा छुटाइएको पुष्टि गरे।

भारतसँग सीमा जोडिएका नाकाहरू हुँदै ट्रान्सपोर्टमार्फत राजधानीतर्फ लुकाई छिपाइ हुने तस्करी गतिविधि बढ्दै गएपछि कार्यालयले निगरानी अझ कडा बनाएको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार