इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१२ स्थित ‘नसिव फार्मेसी’बाट ट्रामाडोल बिक्री–वितरण हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणको लागूऔषधसहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरीक्षक उमेश केसी, प्रहरी चौकी खनारका प्रहरी नायब निरीक्षक प्रलाद बोगटी तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले इटहरी–१२ मा रहेको नसिव फार्मेसीमा छापा मारेको थियो।
प्रहरी टोलीले फार्मेसीका संचालक, इटहरी–१२ का ५० वर्षीय नसिव नारायण चौधरीलाई निकाकाे घरको आँगनमै फेला पारी गए राति नियन्त्रणमा लिएको थियो। घरभित्र छिर्ने क्रममा चौधरीकी श्रीमती २४ वर्षीया सम्झना चौधरीले कोठामा लुकाइ–छिपाइ सिमेन्टको बोरामा राखिएको लागूऔषधलाई छतमाथिबाट फाल्दै गरेको अवस्थामा प्रहरीले श्रीमतीलाई समेत पक्राउ गरेको थियो।
प्रहरीले उनीहरूद्वारा फालिएको दुई बोरा चेकजाँच गर्दा त्यसको भित्र १ पत्तामा १० क्याप्सुल हुने १,९८० पत्ता ट्रामाडोल (कुल १९,८०० क्याप्सुल) बरामद भएको जनाएको छ। साथै दम्पतीको शयनकक्षको टेबलबाट १ पत्तामा १० ट्याबलेट हुने ४०० पत्ता डिकोलिक (कुल ४,००० ट्याबलेट) पनि बरामद गरिएको छ।
लागूऔषध तथा औषधिजन्य पदार्थहरु कानुन बमोजिम आवश्यक प्रक्रिया पूरा गर्दै बरामद गरिएको प्रहरीले जनाएको छ। फार्मेसीका संचालक नसिव नारायण चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया