कैद भुक्तान गरिसकेका युवकलाई ‘फरार’ भनेर गोली प्रहार, संखुवासभा प्रहरी तानियो विवादमा

आइतबार, ३० कार्तिक २०८२
सांकेतिक फाईल

विराटनगर : संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएपछि स्थानीय प्रहरीको कार्यशैली विवादमा तानिएको छ। आइतबार दिउँसो खाँदबारी–१ अस्पताल चोकस्थित पाँचखपन–चुङखुरुङ होटलमा सादा पोसाकका प्रहरीद्वारा गोली प्रहार भएको हो।

गोली लागेर खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विक घाइते भएका छन्। बायाँ घुँडामुनि गोली लागेका विकलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीले जानकारी दिए।

कैद भुक्तान गरिसकेका युवकलाई ‘फरार’ भनेर गोली

प्रहरीले उनी ‘फरार प्रतिवादी’ भएको दाबी गरे पनि विकले अदालतले तोकेको ७ वर्ष कैद सजाय पूरा गरी गत जेठ २४ गते झुम्का कारागारबाट छुटिसकेका थिए। चोरी मुद्दामा बारम्बार दोषी ठहरिएकाले उनलाई २०७५ सालमा काराबास सजाय सुनाइएको थियो।

कारागारका जेलर राजन घिमिरेका अनुसार, “विकको कुनै बाँकी कैद छैन, उनी सामान्य जीवनमा फर्किसकेका व्यक्ति हुन्।”

सहायक हवल्दार दिगम राईले ठूलो चाइनिज पेस्तोलबाट गोली चलाएका स्रोतहरूले बताएका छन्। होटलमा प्रवेश गर्ने क्रममा विवाद उत्पन्न भएपछि उनले गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। 

यसअघि नै विवादास्पद परिचालनका रुपमा आलोचना हुँदै आएका घुमुवा प्रहरीमार्फत यस्तो घटना घटेको भन्दै स्थानीय आक्रोसित बनेका छन्।

स्थानीयको आरोप– ‘निर्दोषमाथि अन्याय’

स्थानीयका अनुसार प्रहरीले फरार प्रतिवादी पक्राउको नाममा पहिले नै सजाय भुक्तान गरेर घर फर्किसकेका नागरिकमाथि गोली चलाएको हो। “यो सरासर अन्याय हो। प्रहरी काम देखाउनका लागि जेसुकै गर्न तयार छ भन्ने उदाहरण हो,” एक स्थानीयले भने।

प्रहरीको भनाइ– ‘आक्रमणपछि सेल्फ–डिफेन्स’

प्रहरीले भने घटना फरक प्रकारले व्याख्या गरेको छ। इन्स्पेक्टर राजवंशीका अनुसार, सोधपुछका क्रममा विकले खुकुरी बोकेर प्रहरीमाथि आक्रमण गरेपछि प्रतिरक्षामा गोली चलाउन परेको हो। “लडाइँझैँ अवस्था बनेको थियो, प्रहरी पनि सामान्य घाइते छन्,” उनले भने।

प्रहरीले घटनास्थलबाट एक खुकुरी बरामद भएको दाबी गरेको छ।

घटनापछि करिब एक महिना अघि मात्र नियुक्त भएका संखुवासभाका प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीको नेतृत्व तथा घुमुवा परिचालनप्रति पनि प्रश्न उठेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार