झापा : झापाको भद्रपुर नगरपालिका–२ गौरीशंकरमा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय एक बालकको मृत्यु भएको छ। ध्रुव राईका छोरा आयन राई घरको आँगनमा खेल्दै गर्दा शनिवार साँझ कुर्सीबाट लडेर अचेत भएका थिए।
अचेत अवस्थामा भेटिएपछि बालकका पिता ध्रुव राईले उनलाई तत्काल मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए। अस्पतालमा परीक्षण गर्दा चिकित्सकहरूले आयनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक उत्तम कुमार कार्कीको नेतृत्वमा टोली खटाएको थियो।
प्रारम्भिक अनुसन्धान सहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले बताए।
बालकका आफन्तले मृत्यु प्राकृतिक रूपमा भएको भन्दै पोस्टमार्टम नगर्ने निर्णय गरेको प्रहरीले जनाएको छ। आवश्यक समन्वयपछि शनिवार राति ८ः२० बजे आफन्तहरूले शव बुझेर लगेका थिए। शव अस्पतालमै राखिएको थियो।
प्रतिक्रिया