झापा : नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा अर्यालले झापामा आयोजित विशाल जनसभामा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गर्दै “लाखौँ ताराका लागि एउटै सूर्य काफी छ” भन्ने संदेश दिएकी छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई उनले मुलुकको भविष्यको मार्गचित्रका रूपमा व्याख्या गर्दै झापाली जनताको निरन्तर भूमिका संविधानको रक्षामा निर्णायक रहेको बताइन्।
एमाले झापाद्वारा बिर्तामोडमा आयोजना गरिएको जनसभामा अर्यालले झापा सदैव प्रतिगमनको विरुद्ध अग्रपंक्तिमा उभिने जिल्ला भएको उल्लेख गरिन्। प्रतिनिधिसभा पुनर्स्थापनादेखि संविधानको रक्षा अभियानसम्ममा झापाले दिएको सन्देश देशभर निर्णायक बनेको उनको भनाइ थियो।
उनले देशभित्र अशान्ति र भ्रम फैलाउने समूहहरूलाई कठोर चेतावनी दिँदै प्रतिगमनकारी, देशद्रोही र आतंककारी गतिविधि गर्नेहरूलाई एक दिन कानूनको कठघरामा उभ्याइने बताइन्। राष्ट्रलाई कमजोर बनाउन खोज्नेहरूले देशको झण्डालाई ढाल बनाउने छुट पाउन नसक्ने भन्दै अर्यालले एमाले यस्ता शक्तिविरुद्ध कहिल्यै चुप नबस्ने दृढता व्यक्त गरिन्।
असंवैधानिक सरकार बनेको आरोप लगाउँदै उनले अहिलेको सत्ताले जनतालाई भ्रममा पारेर चुनावको नाममा नाटक मन्चन गरेको टिप्पणी गरिन्। जननिर्वाचित सरकारलाई हटाएर निर्वाचन गर्छु भन्नु संविधानको भावना विपरीत रहेको भन्दै एमाले कुनैबेला पनि शान्तिपूर्ण, निष्पक्ष र वातावरणसहितको चुनावका लागि तयार रहेको स्पष्ट पारिन्।
अर्यालले झापाको जनसभाबाट आएको ताला जस्तो भीड र ऊर्जा एमालेप्रति जनताको भरोसा अझै मजबुत भएको संकेत भएको बताइन्। उनका अनुसार जतिसुकै पार्टी एक भए, नयाँ शक्ति बने वा गठबन्धन गरिएको भए पनि एक्लै सूर्यका अगाडि ती तारा क्षीण हुनेछन्। संविधान, राष्ट्र र लोकतन्त्रको रक्षा गर्ने क्षमता एमालेलाई मात्र रहेको उनले दाबी गरिन्।
कार्यक्रममा एमालेका युवा नेता मनोज ताम्लीले पनि राष्ट्रवाद र लोकतन्त्रको सवालमा सरकारलाई कठोर चुनौती दिँदै देश जलाउनेहरूलाई राष्ट्रवादी मान्न नसकिने स्पष्ट पारे। लोकतन्त्र ल्याउन एमालेलाई लागेका बलिदान स्मरण गर्दै उनले अहिले पनि राष्ट्रको नेतृत्व केपी शर्मा ओलीले नै गर्नुपर्ने धारणा दोहोर्याए।
मुक्तिचोकबाट सुरु भएको हजारौँ कार्यकर्ता र नेताहरूको र्याली सिटी सेन्टरमा पुगेपछि झापाले असंवैधानिक सरकारविरुद्ध गरेको खबरदारीको स्वर झनै ऊर्जाशील बनेको थियो। कार्यक्रम एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा सम्पन्न भएको जनसभामा उपाध्यक्ष शिव ढुङ्गेल, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतका नेताहरूले सम्बोधन गरेका थिए।
प्रतिक्रिया