सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू, तीव्र गति नियन्त्रणमा कडाइ

शनिबार, २९ कार्तिक २०८२

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकखण्डमा बढ्दो दुर्घटना नियन्त्रणका उद्देश्यले आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति रोक्न जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार कार्यान्वयनमा आएको हो।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार १७.५ किलोमिटरको दूरी पार गर्न सवारीसाधनलाई अब ४५ मिनेटको समय सीमा तोकिएको छ। निर्धारित समयभन्दा छिटो वा ढिलो गुडेमा ट्राफिक प्रहरीले प्रत्यक्ष निगरानी गरी आवश्यक कारबाही गर्ने बताइएको छ।

गत भदौमा जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकले दुर्घटना बढ्दै गएपछि ‘टाइम कार्ड’ अनिवार्य गर्ने निर्णय गरेको थियो। दैनिक करिब २०० यात्रुवाहक तथा मालवाहक सवारीसाधन यही मार्ग हुँदै आवतजावत गर्छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार यातायात व्यवसायीसँगको सहमति लिएर यो प्रणाली लागू गरिएको हो। चालक तथा सहचालकले ट्राफिक नियम उल्लङ्घन गरे वा अनावश्यक रुपमा गति बढाए निगरानी कडा पारिने उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार