विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आगामी सिजनका लागि विराटनगर किङ्ग्स टिमले एभरेस्ट बैंकलाई नयाँ प्रायोजकका रूपमा स्वागत गरेको छ। विराटनगरका चार कर्पोरेट औद्योगिक घराना — एमएम ग्रुप, अरिहन्त ग्रुप, देवेनरा ग्रुप र जयश्री ग्रुपको संयुक्त लगानीमा रहेको टिमले यस पटक व्यावसायिक साझेदारीलाई बलियो बनाउँदै एनपीएलमा प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ।
आइतबार साँझ आयोजित समारोहमा विराटनगर किङ्ग्सका प्रतिनिधि देवेनरा ग्रुपका वेंकटेश मुन्दडा र एभरेस्ट बैंकका क्षेत्रीय प्रबन्धक सुधीर गौतमले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे।
समारोहमा बोल्दै विराटनगर किङ्ग्सका सञ्चालक तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाँले भने, “एनपीएलका आठ टिममा विदेशबाट ४८ खेलाडी र अन्तर्राष्ट्रिय अम्पायरको सहभागिताले नेपालको खेलकुद प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उचो भएको छ। राजनीतिले विभाजित गरिरहेका बेला खेलले सबैलाई एक ठाउँमा ल्याइरहेको छ।”
लुनियाँले गत वर्ष टिमले छैठौं स्थान हासिल गरेको र यस वर्ष विजेता बन्ने लक्ष्यमा लागेको बताए। उनले जारी प्रशिक्षण र रणनीतिबारे जानकारी दिँदै भने, “हामीले खेलाडीलाई मुम्बईसम्म लगेर अत्याधुनिक प्रशिक्षण गराएका छौं। कोशी प्रदेशका १४ जिल्लामा ट्यालेन्ट हन्ट गरिसकेका छौं। यसरी तयार पारिएको उत्कृष्ट खेलाडीको समूहले उत्कृष्ट प्रदर्शन गर्नेछ।”
एभरेस्ट बैंकको प्रायोजनले न केवल खेलकुदमा सहयोग पुर्याउनेछ, तर व्यावसायिक साझेदारी मार्फत टिमको दीर्घकालीन दिगोपना र क्षेत्रीय विकासमा पनि योगदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया