मृत्युदण्डको सजाय सुनाएपछि के भनिन् शेख हसिनाले?

सोमबार, ०१ मंसिर २०८२

काठमाडौँ– बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले मानवताविरुद्धको अपराध मुद्दामा मृत्युदण्डको फैसलालाई पूर्वाग्रही र राजनीतिक रूपमा प्रेरित भनेकी छन्। ७८ वर्षीया हसिनाले अदालतको आदेशलाई चुनौती दिँदै भारतबाट आफ्नो मुद्दामा उपस्थित हुन अस्वीकार गरेकी थिइन्।

उनले भनेकी छन्, ‘मेराविरुद्ध घोषित फैसला अनिर्वाचित सरकारले स्थापना गरेको विशेष न्यायाधीकरणद्वारा गरिएको हो। उनीहरूसँग मलाई यस्तो सजाय सुनाउने कुनै लोकतान्त्रिक अधिकार छैन। यी पूर्वाग्रही र राजनीतिक रूपमा प्रेरित छन्।’

उनले थपिन्, ‘अन्तरिम सरकारभित्रका चरमपन्थी व्यक्तिहरूले बंगलादेशको अन्तिम निर्वाचित प्रधानमन्त्रीलाई हटाउने र अवामी लिगलाई राजनीतिक शक्तिबाट बेवास्ता गर्ने खुला र घातक चाहना देखाएका छन्।’

उनको पार्टी अवामी लिगलाई मे महिनादेखि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको थियो। बंगलादेशको विशेष न्यायाधीकरण (ट्राइब्युनल) ले सोमबार हसिनालाई मृत्युदण्डको फैसला सुनाएको थियो। उनीमाथि गत वर्षको जनआन्दोलनमा सयौँ मानिसको ज्यान लिएको आरोपसहित मानवताविरुद्धका अपराधमा मुद्दा लागेको थियो। सोही आन्दोलनका कारण उनको १५ वर्षे शासन अन्त्य भएको थियो।

फैसलाअघि अन्तरिम सरकारले सुरक्षा कडा पारेको थियो। ढाका र देशका अन्य धेरै क्षेत्रमा सैनिक, अर्धसैनिक सीमा सुरक्षा बल र प्रहरी परिचालन गरिएको थियो। हसिनाको आवामी लिग पार्टीले फैसलाविरुद्ध विरोधस्वरूप देशव्यापी बन्दको आह्वान गरेको छ।

भारतमा निर्वासित हसिनालाई अनुपस्थितिमै मुद्दा चलाइएको थियो। उनले न्यायाधीकरणलाई ‘कंगारु कोर्ट’ भनेकी छन्। साथै उनले आफ्ना तर्फबाट राज्यले नियुक्त गरेको वकिलको पनि कडा विरोध गरेकी छन्।

सेख हसिना र अन्य दुई अभियुक्तविरुद्ध अपराध प्रमाणित भएको फैसलामा उल्लेख छ। तत्कालीन गृहमन्त्री असदुज्जामान खानलाई पनि मृत्युदण्ड सुनाइएको छ। तत्कालीन प्रहरी महानिरीक्षक चौधुरी अब्दुल्ला अल–मामुनलाई पाँच वर्ष कैदको सजाय दिइएको छ। तत्कालीन गृहमन्त्री असदुज्जामान पनि हाल भारतमा छन्। अल–मामुन मात्र हिरासतमा छन्।

हसिनाविरुद्ध मृत्युदण्डको घोषणा भएपछि अदालतभित्र र बाहिर खुसीका स्वर सुनिएका थिए। सानो समूहले दोषीलाई फाँसी दिइयोस् भनी नारा लगाइरहेको थियो। अदालतभित्रको ताली केही सेकेन्डसम्म जारी रह्यो। त्यसपछि अदालतले उपस्थित सबैलाई शिष्टाचार पालन गर्न अनुरोध गरेको थियो। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार