काठमाडौं : मुलुकी राजनीतिमा गत भदौ अन्तिम साता भएको उथलपुथलको चर्चा परिचर्चा भइरहेका बेला राजनीतिक दलहरू संविधान दिवस मनाउने तयारीमा जुटेका छन् । जेन-जी आन्दोलनपछि सत्ताच्युत भएका राजनीतिक दलहरूले संविधानमाथि भएको हस्तक्षेपविरुद्ध सचेतनामूलक कार्यक्रम गरी संविधान दिवस मनाउने तयारी गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र व्यवस्था जोगाए पनि प्रतिनिधिसभा विघटनबाट बेखुस राजनीतिक दलहरूले सचेतनामूलक कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको जनाएका छन् ।
विघटित प्रतिनिधिसभाका प्रमुख तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान दिवसलाई खबरदारी र सचेतनाका रूपमा मनाउन आ–आफ्ना जनसङ्गठन र कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । तीन वटै पार्टीका कार्यकर्ताले आ–आफ्ना पार्टी कार्यालयमा उपस्थित भएर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाउने भएका छन् ।
नेपाली काँग्रेसले केन्द्रदेखि ७७ वटै जिल्लामा भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा संविधान दिवस मनाउन निर्देशन दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले बुधबार पार्टी कार्यालयमा पुगेर संविधान दिवस मनाउन सबै जिल्लामा सर्कुलर गरिएको बताएका थिए । ‘सबै भ्रातृ संस्थालाई संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन निर्देशन दिइएको छ ।
अत्यन्त संयमपूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत सबैलाई आह्वान गरेका छौँ,’ खड्काले केन्द्रीय कार्यालयमा भनेका थिए । काँग्रेसले पार्टीका सबै तहलाई संविधान दिवस मनाउन निर्देश गरेको छ ।
यसैगरी नेकपा एमालेले केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरेर संविधान दिवस मनाउने भएको छ । एमालेले केन्द्रमा संविधान दिवस मनाउन पार्टी केन्द्रीय कार्यालयमा भेला हुन सबै नेता–कार्यकर्तालाई आग्रह गरिसकेको छ । एमालेले सबै जिल्ला कमिटीलाई लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धतासहित संविधान दिवस मनाउन निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार संविधान दिवस मनाउन महासचिव शङ्कर पोखरेलले सबै केन्द्रीय विभागका इन्चार्ज र प्रमुख, सबै भ्रातृ सङ्गठनका इन्चार्ज र अध्यक्ष, बागमती प्रदेश, सम्पर्क समन्वय कमिटी र उपत्यका विशेष कमिटीका इन्चार्ज र प्रमुखलाई निर्देशन दिइसकेका छन् ।
‘संविधानका उपलब्धिको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि ७७ वटै जिल्लामा सभाहरू आयोजना गरेर संविधान दिवस मनाइँदै छ’, प्रचार विभाग प्रमुख गौतमले भने । राजनीतिक परिस्थिति असहज बन्न पुगेको भए पनि विभिन्न आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्रहरू भइरहेकाले सचेत हुनुपर्ने उनको भनाइ छ
त्यसैगरी माओवादी केन्द्रले पनि संविधानमाथिको आक्रमण र हस्तक्षेपविरुद्ध विभिन्न सचेतनात्मक कार्यक्रम आयोजना गरेर देशैभर संविधान दिवस मनाउँदै छ । केन्द्रीय कार्यालय, विभिन्न तहका पार्टी कार्यालय र उपयुक्त अन्य ठाउँमा जम्मा भएर सहिदहरूलाई श्रद्धाञ्जली दिने तथा संविधानमाथिको आक्रमण र हस्तक्षेपविरुद्ध सचेतना कार्यक्रम गरिने माओवादीले जनाएको छ ।
सरकारले टुँडिखेलमा मनाउने
सरकारले अघिल्ला वर्षहरूमा जस्तै काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा संविधान दिवस मनाउने भएको छ । जेन-जी आन्दोलनका बलमा बनेको नयाँ सरकारले टुँडिखेलस्थित सैनिक मञ्चमा औपचारिक कार्यक्रम गरेर संविधान दिवस मनाउँदै छ । सरकारको कार्यक्रम सामान्य हुने गृह मन्त्रालयले जनाएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग समन्वय गरेर संविधान दिवस मनाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा शुक्रवार अपराह्न साढे ३ बजे शीतल निवासमा विशेष कार्यक्रम आयोजना गर्ने उनको सचिवालयले जनाएको छ । वर्तमान संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको थियो ।
प्रतिक्रिया