लहानका चार हजार घरपरिवार अझै शौचालयविहीन

मंगलबार, ०२ मंसिर २०८२
सांकेतिक फाईल

सिरहा : जिल्लाको लहान नगरपालिकाले दिगो सरसफाइ प्रवद्र्धनका लागि ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ सुरु गर्दै नगरभित्र अझै ठूलो सङ्ख्यामा शौचालयविहीन घरपरिवार रहेको तथ्य सार्वजनिक गरेको छ । 

नगरपालिकाको पछिल्लो सर्वेक्षणअनुसार २४ हजार सात सय घरपरिवारमध्ये झण्डै १७ प्रतिशत अर्थात् चार हजार दुई सय घरमा आजसम्म पनि शौचालय छैन । नगर प्रमुख महेशप्रसाद चौधरीले आज पत्रकार सम्मेलनमार्फत तथ्याङ्क सार्वजनिक गर्दै स्वच्छता चुनौती गम्भीर बन्दै गएको उल्लेख गरे । 

उनले भने, “२०१७ मै खुला दिसामुक्त घोषणा भइसकेको नगरमा आज पनि यति धेरै घरपरिवार शौचालयविहीन हुनु चिन्ताजनक अवस्था हो । अब घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ ।”

दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीमा समस्या बढी देखिएको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित पानीको कमी तथा मर्मत–सम्भार कमजोरीले स्वच्छतास्तर कमजोर बनेको नगरपालिकाको प्रारम्भिक विश्लेषणले देखाउँछ । नगरप्रमुख चौधरीले भूमिहीन सुकुम्बासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रिया अघि बढाइने पनि बताए । 

नगरपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घर–घरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरेको छ । 

नगरप्रमुख चौधरीले सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भने,“शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो । स्वच्छता सुधार नगरवासीकै सक्रिय सहभागिताबाट सम्भव हुन्छ ।”

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार