६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

शुक्रबार, ०३ असोज २०८२

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज र आम नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । 

संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति भवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद् गठनका उपाय नभएपछि आम सहमतिबाट संकटको निकास गरिएको बताए ।

राष्ट्रपति पौडेलले भने, “यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता दिएको छ। सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ। हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ।”

उनले लोकतन्त्रलाई बलियो बनाउन हरेक पुस्ताको सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै आफू पनि १७ वर्षको उमेरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएको स्मरण गरे । 

rastapati

भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो परिस्थितिमा सबैको सुझबुझ र सहयोगका कारण मुलुकले निकास पाएको बताउँदै उनले मुलुक लोकतन्त्रप्रति प्रतिबद्ध रहने, नागरिकलाई केन्द्रमा राखेर सुशासन र नैतिक मूल्यका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

राष्ट्रपति पौडेलले हाल बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्  । 

राष्ट्रपति पौडेलले भ्रष्टाचार र बेथितिको अन्त्य गर्नुपर्ने जेन्जी पुस्ताको मागलाई सबैले मनन गर्नुपर्ने भन्दै संविधान दिवसकै दिन सबैलाई सुधारसहित अघि बढ्ने अठोट गर्न आह्वान गरे । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार