विश्व प्रविधि क्षेत्रमा चीनको बढ्दो प्रभुत्व

मंगलबार, ०२ मंसिर २०८२

चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान केन्द्रमध्ये आधाभन्दा बढी स्थान सुरक्षित गरेका छन् । 

‘नेचर इंडेक्स सन् २०२५ साइन्स सिटिज’ परिशिष्टका अनुसार चीनका शीर्ष स्थानमा पर्ने सहरहरू सन् २०२३ का पाँचबाट सन् २०२४ मा छ पुगेका छन् । यससँगै शीर्ष दसमा चीनले पहिलोपटक बहुमत पाएको हो ।

यो प्रतिवेदनले सन् २०१५ देखि २०२४ सम्म प्रकाशित वैज्ञानिक लेखहरूको आधारमा प्रत्येक सहरको योगदान मापन गरेको छ । ‘सेयर’ नामक सूचक प्रयोग गरिने यो प्रणालीले कुनै सहरभित्रका सबै वैज्ञानिक संस्थानहरूले गरेका योगदानको जम्मा गरेर समग्र स्थान निर्धारण गर्दछ ।

सूचकका अनुसार विश्वका शीर्ष विज्ञान सहरहरूमा बेइजिङ, साङ्घाइ, न्यूयोर्क क्षेत्र, बोस्टन क्षेत्र, नान्जिङ, ग्वाङ्गजोउ, सान फ्रान्सिस्को खाडी क्षेत्र, वुहान, बाल्टिमोर–वासिङ्टन क्षेत्र र हाङ्जोउ समावेश छन् ।

बेइजिङको समायोजित योगदान सन् २०२३ देखि २०२४ बीच ९ प्रतिशतभन्दा बढीले बढेको छ, जबकि साङ्घाइले २० प्रतिशतको उल्लेख्य वृद्धि हासिल गरेको छ । यसको विपरीत, शीर्ष दसमा रहेका अमेरिकी सहरहरूको संयुक्त योगदान घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले चीनले वैज्ञानिक क्षेत्रको अग्रता विस्तार गर्दै गएको र अमेरिकाको प्रभाव क्रमशः कमजोर हुँदै गएको प्रवृत्ति झल्किने निष्कर्ष निकालेको छ ।

रसायन, भौतिक विज्ञान तथा पृथ्वी–पर्यावरण विज्ञानजस्ता प्रमुख क्षेत्रहरूमा चीनका सहरहरू अग्रस्थानमा छन् । पहिलोपटक रसायन क्षेत्रमा शीर्ष दसै स्थान चीनले हात पारेको छ, भने अन्य दुई विषयमा पनि छ–छ स्थान चीनका सहरहरूले ओगटेका छन् । ती तीनै क्षेत्रमा बेइजिङ विश्वको एक नम्बरमा रहेको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार