१० हजार धरौटी तिर्न नसकेर मोरङ कारागार चलान भएका थुनुवाको मृत्यु

बुधबार, ०३ मंसिर २०८२

विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको बुधबार बिहान मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए । 

उनका अनुसार लिम्बू अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले मागेको धरौटीबापतको १० हजार रूपैयाँ तिर्न नसकेपछि उनलाई गत साउन १४ गते कारागार चलान गरिएको थियो । 

प्रशासनको आदेश अनुसार मोरङ कारागार चलान गरिएका लिम्बूको मुद्दा विचाराधीन छ । आफूविरुद्धको मुद्दाको टुंगो लाग्न नपाउँदै उनको भने मृत्यु भएको छ । जेलर ढुंगेलका अनुसार सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति ८ बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।  

उपचारकै क्रममा बुधबार बिहान १० बजेतिर लिम्बूको मृत्यु भएको जानकारी उनले दिए । शव कोशी अस्पतालमै रहेको र आफन्तलाई खबर भइरहेको ढुंगेलले बताए । उनका अनुसार लिम्बूलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो ।  

साउनयता कारागारमा राखिएका ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । यसअघि गत कात्तिक २५ गते मिक्लाजुङ गाउँपालिका घर भएका ४२ वर्षीय ज्ञानबहादुर राईको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार