पैँतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

बुधबार, ३१ बैशाख २०८२

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।  

साबिक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पुर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पुर्जा पाएका थिएनन् । 

“आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले बताए । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पुर्जा लिएका हुन । 

लालपुर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पुर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पुर्जा वितरण गरेका थिए ।

खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पुर्जा बनाई वितरण गरिएको उनले बताए। “पहिलो चरणमा बनेको पुर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पुर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उनले भने । 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार