उच्च अदालत विराटनगरले खारेज गरिदियो तिम्सिनाको रिट, गुम्यो प्रधानाध्यापकको पद

मंगलबार, ०६ जेठ २०८२

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१४ स्थित शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाको पद गुमेको छ । 

तिम्सिनाले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएसँगै उनी पदमुक्त भएका हुन् । तिम्सिना अदालतको अन्तरिम आदेश (स्टे अर्डर)को भरमा प्रधानाध्यापक पदमा पुनः बसेका थिए । तर, वैशाख १५ गते उच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेपछि उनको पद औपचारिक रूपमा गुमेको हो । 

गत पुस ११ गते इटहरी उपमहानगरपालिकाले विद्यालयको ८० लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा तिम्सिनालाई निलम्बन गरेको थियो।  पुस २५ गते उच्च अदालत विराटनगरबाट ‘स्टे अर्डर’ ल्याएर उनीले पुनः पद सम्हालेका थिए । तर, अहिले अदालतले उनको रिट खारेज गरिदिएको छ । 

न्यायाधीश श्रीधराकुमारी पुडासैनी र न्यायाधीश केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले रिट खारेज गरिदिएको उच्च अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहले अदालतको फैसलासँगै तिम्सिनाको पद निलम्बन प्रक्रिया अघि बढाइने जानकारी दिए । 

उनका अनुसार अदालतको पूर्ण पाठ पर्खिएको र आए लगत्तै तिम्सिनालाई जिम्मेवारीबाट हटाएर विद्यालयकै वरिष्ठ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइने छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमतुल मियाँले भने अदालतले रिट खारेज गरेको जानकारी आफूलाई अहिलेसम्म आधिकारिक रूपमा प्राप्त नभएको बताए।

अपचलनको पृष्ठभूमि

शान्ति सृजना विद्यालयले २०७९ असोजसम्मको शिक्षक तलब र चाडपर्व भत्ताका लागि ७ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ माग गरेको थियो । तर, इटहरी उपमहानगरपालिकाको लेखा शाखाबाट विद्यालयको वाणिज्य बैङ्क इटहरीस्थित खाता नम्बर २२२०१००००१३९६०१ मा ८८ लाख २४ हजार २ सय ४३ रुपैयाँ भुक्तानी गरिएको देखियो । आन्तरिक लेखा परीक्षणपछि उक्त रकम अत्यधिक भएको खुलेको हो ।

विद्यालयलाई तोकिएको भन्दा अत्यधिक रकम जम्मा गरिएपछि इटहरी उपमहानगरपालिकाले अधिकृत लखनलाल चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाएपछि तिम्सिनाले आफूले पाएको बढी रकम फिर्ता गरिसकेका छन् ।

त्यही समयमा इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा ६ करोड ३० लाख ६१ हजार ६ सय ६० रुपैयाँ भुक्तानी गरिएको थियो । तिनैमध्ये शान्ति सृजना विद्यालयमा रकम अपचलन भएको समाचार पहिलो पटक प्रदेश खबरमा प्रकाशित भएको हो । 

राजनीतिक पकड र विवाद

तिम्सिना नेकपा (एकीकृत समाजवादी)निकट हुन् । नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य पनि छन् । उनी प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठनबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका थिए । यही राजनीतिक पहुँचको भरमा उनले विद्यालय र नगरपालिकामा प्रभाव जमाएको आरोप स्थानीय शिक्षकहरूले लगाएका छन्।

स्रोतका अनुसार, तिम्सिनाले यसपालिको एसइई परीक्षामा विद्यालयको पूर्वाधार मापदण्ड नपुगेको अवस्थामा समेत दबाब दिएर परीक्षा केन्द्र बनाएका थिए । नगरपालिकाले निलम्बन गरिसकेको अवस्थामा पनि उनी विभिन्न कार्यक्रम र भेलामा सहभागी हुँदै आएका थिए ।

प्रशासनिक दृष्टिले अटेर गर्दै उनले गतिविधि गरिरहेका थिए । अब अदालतको निर्णयसँगै तिम्सिना प्रधानाध्यापक पदमा नरहने पक्का भइसकेको छ । नगरपालिकाले प्रक्रिया पूरा गरेपछि उनको निलम्बन औपचारिक रूपमा कार्यान्वयन हुनेछ ।

पद गुमाइसकेपछि पनि विद्यालयको नाममा तिम्सिनाले जारी गरेका हस्ताक्षरसहितको सूचना  

यो हेर्नुस् पत्र....

WhatsApp Image 2025-05-20 at 13.50.52

 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार