इलाम : चलचित्र पत्रकार संघको २६औं स्थापना दिवसको अवसरमा इलामको प्रमुख पर्यटकीय गन्तव्य अन्तुमा विशेष कार्यक्रमहरू आयोजित भएका छन्।
जेठ ६ देखि ९ गतेसम्म चल्ने कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने विभिन्न पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकारहरू बसुन्धरा भुसाल, शिव श्रेष्ठ, गौरी मल्ललगायतले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका थिए।
कार्यक्रममा पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान र नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रदान गरिएको संघले जनाएको छ।
त्यस्तै पत्रकार जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार, तथा तुलसीप्रसाद निरौलालाई (कोशी) राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजनमा तथा इलाम, झापा, मोरङ र सुनसरी शाखाहरूको व्यवस्थापनमा सम्पन्न भएको हो।
कार्यक्रममा चलचित्र पत्रकारको राष्ट्रिय भेला, सिनेमा संवाद, मिडिया मन्थन, कार्यशालाजस्ता विविध कार्यक्रमहरू समावेश गरिएको अध्यक्ष समीर बलामीले जानकारी दिएका छन्।
प्रतिक्रिया