इलाममा जङ्गली च्याउ खाएका तीनै जनाको मृत्यु

आइतबार, ११ जेठ २०८२
फाइल तस्बिर

झापा : इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएनसी अस्पतालमा ज्यान गएको हो ।

हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौंको अकालमा ज्यान गइरहेको छ । नेपालमा झन्डै एक हजार तीन सय प्रजातिका च्याउ पाइनेमा झन्डै एक सय प्रजातिका च्याउ विषालु रहेका जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकले बताए ।

च्याउ हेरेर विषालु छ कि छैन भन्न कठिन छ । तर किरा नलागेको, नमिठो गन्ध आएको, झुसको मात्रा धेरै भएको, रङ्गीचङ्गी, भाँच्दा दूध वा चोप निस्कने च्याउ विषालु हुन्छ । यस्तै विषालु च्याउको छाताका काँडा तथा गिर्खा हुन्छ । डाँठमा औँठी हुन्छ । फेदमा कचौरा वा थैलोजस्तो भाग हुन्छ । यी गुणले पनि विषालु च्याउ चिन्न सकिन्छ ।

राम्रोसँग नचिनिकन जङ्गली च्याउ नखानु नै उत्तम हुने डा. पाठकको सुझाव छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार