विराटनगर : मोरङको धनपालथान गाउँपालिका–६ स्थित कदमहामा शुक्रबार राति भएको एक विवाह समारोह हिंसात्मक झडपमा परिणत हुँदा पाँच जना घाइते भएका छन्। बेहुला र बेहुली पक्षबीचको विवादले उग्र रूप लिएपछि विवाह स्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
भजनलाल सहनीको छोरीको विवाहमा झडप भएको हो। जन्तीहरू विराटनगर महानगरपालिका–११ को पिचराबाट धनपालथान पुगेका थिए। विवाहको विधि चलिरहेको बेला डिजे साउण्डमा नाचगानको क्रम चलिरहेकै समयमा बेहुला र बेहुली पक्षका केही व्यक्तिबीच भनाभन भएको थियो।
प्रारम्भमा सामान्य देखिएको विवाद केही बेरमै उग्र बन्दै गयो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, मदिरा सेवन गरेका केही व्यक्तिबीच हात हालाहाल सुरु भएपछि झडप चुलिएको हो।
झडपका क्रममा मण्डप र कुर्सीहरू तोडफोड गरिएको थियो। जन्तीहरूबीच भागदौड मच्चिएपछि विवाहमा उपस्थित धेरैजसो मानिस घरभित्र आश्रय लिन बाध्य भएका थिए।
घटनामा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, तथा विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन्। डीएसपी जोशीका अनुसार, घाइतेमध्ये दुई जना बेहुली पक्षका र तीन जना जन्ती पक्षका हुन्।
घाइतेलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। तीन जनाको टाउकोमा टाँका लगाइएको भए पनि सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
विवाह समारोहमा चुलिएको तनावका कारण बेहुलीलाई तत्काल अन्माएर पठाउने निर्णय गरिएको थियो। राति करिब १ बजेतिर जन्ती बेहुली लिएर विराटनगर फर्किएका थिए। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले जन्तीलाई स्कर्टिङ गरेर सुरक्षित रूपमा पठाएको थियो।
इलाका प्रहरी कार्यालय रंगेलीले घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार झडपको मुख्य कारण अत्यधिक मदिरा सेवन र अनुशासनहीन व्यवहार रहेको बताइएको छ।
प्रतिक्रिया