काठमाडौँ : लिम्बू भाषा, संस्कृति र इतिहासका विविध पक्षमा अनुसन्धान र अध्ययनलाई प्रवर्द्धन गर्न एक करोड रुपैयाँको प्राज्ञिक कोष स्थापना गरिएको छ। क्यानडामा बसोबास गर्दै आएका ताप्लेजुङका विष्णुदत्त आङ्बुहाङ र उनकी पत्नी सरस्वती कार्की आङ्बुहाङले यो कोष लिम्बुवान अध्ययन केन्द्रमार्फत सञ्चालन हुने गरी स्थापना गरेका हुन्।
यस ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’बाट प्राप्त ब्याज रकममार्फत लिम्बू र लिम्बुवान क्षेत्रका भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक पक्षहरूमा विश्लेषणात्मक अध्ययन र अनुसन्धान गरिनेछ। कोषबाट हरेक दुई वर्षमा एक जनालाई एक लाख रुपैयाँ राशीको प्राज्ञिक पुरस्कार प्रदान गरिनेछ भने हरेक वर्ष एक पुरुष र एक महिलालाई अनुसन्धानवृत्ति दिइनेछ।
यसअघि आङ्बुहाङ दम्पतीले २०७३ सालमा २० लाखको कोष स्थापना गरेका थिए। त्यसमा पछि ३० लाख थपेर ५० लाख पुर्याइयो र हाल फेरि थप ५० लाख थपेर कुल कोष एक करोड रुपैयाँ बनाइएको हो। लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामका अनुसार शनिबार आयोजित एक कार्यक्रममा यो वर्षको प्राज्ञिक पुरस्कार मरणोपरान्त इतिहासकार स्वर्गीय कृष्णविक्रम नेम्बाङलाई प्रदान गरिएको छ। उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नगद एक लाख रुपैयाँ राशीसहित सम्मान गरे। नेम्बाङको कृति ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध, २०८०’ प्रकाशित भएको केही समयपछि २०८० मंसिर ३ गते उनको निधन भएको थियो।
यस वर्षको अनुसन्धानवृत्ति विवेक गौतमलाई प्रदान गरिएको छ, जसले लिम्बू समुदायमा 'पाहा' को महत्वमाथि अनुसन्धान गरेका छन्। यसअघि यो पुरस्कार विजय लुम्फुङ्वा लिम्बू र डा. मोराहाङ लिम्बूलाई प्रदान गरिएको थियो। त्यस्तै, इन्दु फोम्बो, राज माङलाक, एल.बी. पालुङ्वा लिम्बू, अमर तुम्याहाङ, टेब लावती, कालीबहादुर लिम्बू, अमृता थेबे, सन्ध्या सुब्बा (सिङ्जाङ्गो), मधुराज केरुङ, भीमा सुब्बा लिम्बु, दिलेन्द्र कुमार सुब्बा, मनकुमार लिम्बु, सुवासचन्द्र तेयुङ, ताजुब कुमार लिम्बू, हितराम तिलिङ, डम्बर लावती, सीता मादेम्बा लगायतले कोषमार्फत विभिन्न अध्ययन–अनुसन्धान गरेका छन्।
आङ्बुहाङको जन्म ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङमा भएको हो। उनले आफ्नो जीवनको ठूलो हिस्सा अध्यापनमा बिताए भने २०३२ देखि २०४१ सालसम्म नेपाल सरकारको अधिकृत पदमा कार्यरत रहे। २०५९ सालदेखि उनी क्यानडामा बसोबास गर्दै आएका छन्। मातृभूमिप्रति प्रेम र मोहका कारण उनले लिम्बू भाषा र संस्कृति संरक्षणमा योगदान दिने उद्देश्यले यो कोष स्थापना गरेको बताए।
प्रतिक्रिया