केराबारी लैजाँदै गरिएको ८९० किलो गाँजा धनकुटाबाट बरामद

शनिबार, १० जेठ २०८२

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित ओख्रे प्रहरी चौकीले बोलेरो पिकअपमा लोड गरिएको ८ सय ९० किलो गाँजा बरामद गरेको छ।

उक्त गाँजा शनिबार बिहान पिकअप गाडीमा २९ वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

गाँजासहित साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङका १९ वर्षीय उल्लास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विनोदकुमार राजवंशीको कमाण्डमा तीनजनाको एम्बुस टोली परिचालन गरेको थियो।

नजिकका प्रहरी युनिटहरू तथा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा २० जनाको जनशक्ति थप परिचालन गरिएको थियो। 

उक्त टोली पुग्नुअघि नै पिकअप गाडीका चालकले ड्युटीमा रहेका प्रहरी जवान सञ्जयकुमार थारूलाई धकेलेर जंगलतर्फ फरार भएका थिए। थारूको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनी डाँडाबजारस्थित क्लिनिकमा उपचाररत छन्।

प्रहरीले घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल र ४ थान मोबाइल फोन समेत बरामद गरेको छ।

फरार चालकको पहिचान खुलेको र उनलाई पक्राउ गर्न धनकुटा तथा मोरङ प्रहरीले संयुक्त खोजी गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामग्री जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार