काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच जारी रहेको पाइएको छ । स्पिड लेजर गनमार्फत प्रहरीले सवारी जाँचलाई निरन्तरता दिएको हो ।
ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा २०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएपछि चर्को आलोचना खेपेको प्रहरीले सोही किसिमको चेकजाँच दोहोर्याएको हो ।
विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ । यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को–वालकुमारी क्षेत्रमा देखिएको थियो ।
साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए । यसैविचमा लुकिछिपी ट्राफिक चेकजाँचले दुर्घटना निम्ताइरहेको पाइएको छ ।
‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर लुकेर स्पिड जाँच गर्ने सिलसिलामा दुर्घटना निम्ताउन पाइँदैन् । अव्यवहारिक र अवैज्ञानिक चेकजाँच गर्नु भएन्,’ काठमाडौं जोरपाटीका दिनेश बाँस्कोटाले भने ।
ओखलढुंगाका कोइरालाले ज्यान गुमाएको घटनापछि जनस्तरबाट उठेको चर्को आलोचना र दबाबका कारण उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गर्नुपर्यो ।
अस्थायी रूपमा ट्राफिक प्रहरीले लुकिछिपी चेकजाँच रोकेको थियो । तर, नेपाली ब्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताले गर्दा अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ ।
सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा ट्राफिकको चेकजाँच, त्यो पनि गुपचुप तरिकाले हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटना निम्ताउनु रहेको बाँस्कोटाको भनाइ छ ।
नेपालमा विश्व स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा अघि बढिसकेको छ । तर नेपालमा अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै रहेको छ ।
प्रतिक्रिया