पोखरा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन्।
पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले ओलीको पछिल्लो टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका हुन्।
युवा संघको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र दाहालको अभियान राजावादीसँग मिल्ने बताएका थिए।
यही अभिव्यक्तिपछि प्रचण्डले ओलीको मानसिक स्वास्थ्यमा प्रश्न उठाएका हुन्। उनले भने, "राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर प्रधानमन्त्रीले बोले रे।
यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीलाई एकपटक मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु।"
प्रचण्डले राजावादी गतिविधिहरू बढ्दासमेत सरकार मूकदर्शक बनेको आरोप लगाए।
यस अवस्थाले सरकार र यथास्थितिवादी-प्रतिगमनवादी शक्तिबीच साँठगाँठ भएको आशंका उब्जिएको उनको भनाइ छ। उनले भने, "राजावादीले गरेका हर्कतहरूको भण्डाफोर गर्ने, विरोध गर्ने, जनमत तयार पार्ने जिम्मेवारीमा सरकार गैरजिम्मेवार देखिएको छ।"
उनका अनुसार यही कारण माओवादीले चैत १५ गते काठमाडौंमा एक लाखभन्दा बढी जनसहभागितामा राजावादीको प्रतिगमन र वितण्डाविरुद्ध प्रदर्शन गरेको थियो।
उनले भने, "माओवादीको प्रतिवादले राजावादी ठेगान लागेको छ, तर यसबाट सरकारलाई राहत मिलेको छ। भ्रष्टाचारमा डुबेको सरकारलाई माओवादीको प्रतिवादले बचाएको छ।"
प्रतिक्रिया