काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत सुरु भएको सामान्य चिनजान अन्ततः ‘हनी ट्रयाप’ अर्थात् प्रेमको जालमार्फत ब्ल्याकमेलमा परिणत हुने क्रम बढ्दै गएका छन्। यसैबीच, काठमाडौंमा यस्तै शैलीमा ब्ल्याकमेल गर्ने दुई युवती पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ३४ वर्षीया ममता तामाङ,स्थायी ठेगाना कैलाली, हाल काठमाडौं-५० र ३४ वर्षीया आचल श्रेष्ठ उर्फ आँचल चौगुठी (स्थायी ठेगाना भक्तपुर, हाल काठमाडौं-५) छन्।
उनीहरूलाई जेठ ७ गते काठमाडौं-११ हनुमानस्थानबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरू फेसबुकमा युवतीका फोटो राखेर पुरुषहरूसँग सम्पर्क बनाउँथे। सुरुमा सामान्य कुराकानी गर्दै विश्वास जित्ने र विस्तारै सम्बन्ध गाढा बनाएपछि होटल वा रिसोर्टमा बोलाउँथे। यस्तो भेटघाट पूर्वनियोजित हुन्थ्यो, जहाँ खाजा, खाना र मदिरासहितको सेवा दिँदै पीडितको गोप्य फोटो र भिडियो खिचिन्थ्यो। ती दृश्यहरू धेरैजसो आपत्तिजनक हुने प्रहरीको दाबी छ।
त्यसपछि ती सामग्री देखाएर घरपरिवार, कार्यक्षेत्र वा सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै लाखौँ रुपैयाँ असुल्ने गरेको खुलेको छ। पछिल्लो घटनामा उनीहरूले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा मागेका थिए भने पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रमाण भेटिएको छ।
दुवैको साथबाट विभिन्न कम्पनीका मोबाइलहरू बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि डिजिटल प्रमाण संकलन भइरहेका छन्। प्रहरीका अनुसार पछिल्लो समय उनीहरूले सामाजिक सञ्जालमा झुटा प्रस्तावमार्फत रोजगारी वा सम्बन्धको नाममा फसाउने कार्यमा सक्रियता बढाएका थिए।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार यो शैलीलाई ‘हनी ट्रयाप’ भावनात्मक सम्बन्धको जालमा पारेर ठगी गर्ने प्रवृत्तिको आधुनिक रूप मानिएको छ। काठमाडौं उपत्यकामा सामाजिक सञ्जालमार्फत हुने यस्ता साइबर अपराधहरू दिन प्रतिदिन बढ्दै गएका छन्।
प्रहरीले घटनामा संलग्न दुवै युवतीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको छ। साथै, प्रहरीले सर्वसाधारणलाई यस्ता गतिविधिबाट सचेत रहन अपिलसमेत गरेको छ।
प्रतिक्रिया