इटहरी ‘टाट पल्टियो’ भन्ने हल्ला फैल्याइएको हो, हामी उपभोक्ताको भुक्तानी दिँदै छौँ – मेयर पौडेल

विहीबार, ०८ जेठ २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ‘इटहरी टाट पल्टियो’ भन्ने हल्ला नियोजित रूपमा फैलाइएको आरोप लगाएका छन्। 

बिहीबार उपमहानगरपालिकाको प्रमुख स्तरीय बैठकपछि प्रदेश खबरसँग कुराकानी गर्दै उनले उपमहानगरको आर्थिक अवस्था सुचारु रहेको र उपभोक्तालाई भुक्तानी दिने कार्य प्राथमिकताका साथ अगाडि बढिरहेको बताए।

“बजारमा हल्ला चलेको छ, इटहरी टाट पल्टियो रे,” मेयर पौडेलले भने, “तर वास्तविकता त्यो होइन। हामीले हालसम्म १६ करोडमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौँ। बाँकी ४ करोड पनि उपभोक्तालाई दिने निर्णय भइसकेको छ।”

उनका अनुसार बाँकी रहेको रकमको भुक्तानी प्रक्रियामा रहेको छ । “ठेकेदारमध्ये कतिपयको काम र बिल मिलेको छैन, त्यसैले भुक्तानी रोकिएको हो,” उनले प्रस्ट्याए।

हाल बजारमा फैलिएको ‘इटहरी टाट पल्टियो’ भन्ने आशङ्का सम्बन्धी प्रश्नमा मेयर पौडेलले ती हल्लाहरू नियोजित रूपमा फैलाइएको बताएका छन्।

  “ यथार्थ के हो भने, उपमहानगरले आफ्नो दायित्व पूरा गर्दैछ, र उपभोक्ताको पैसा तिर्दैछ”,  उनले भने ।

 उपमेयर सङ्गीता चौधरीका अनुसार उपभोक्ताको करिब ४ करोड २५ लाख रुपैयाँ बाँकी छ, जसको भुक्तानी जेठ १ गतेदेखि सुरु भइसकेको छ। “अब यसलाई निरन्तरता दिइन्छ,” उनले भनिन्।

इटहरीका प्रमुख प्रशासकीय अधिकृत मीन भट्टराईले समेत प्रमुख स्तरीय बैठकमा उपभोक्ताको भुक्तानीलाई प्राथमिकता दिने गरी छलफल भएको पुष्टि गरेका छन्। 

उनका अनुसार हाल इटहरी उपमहानगरपालिकाले उपभोक्ता समितिको बक्यौता रकम चाँडै फर्स्योट सम्पन्न गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार