धरानमा १० औं बास्केटबल ट्यालेन्ट हन्ट सम्पन्न

विहीबार, ०८ जेठ २०८२

धरान : धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा सञ्चालन गरिएको १० औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलवार सम्पन्न भएको छ।

वैशाख ३ गतेदेखि सुरु भएको यस क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थी सहभागी थिए। बास्केटबल खेलको विकास र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले विगत १३ वर्षदेखि नियमितरूपमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्दै आएको हो।

हालको प्रशिक्षण क्याम्प विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको भए पनि कक्षा ४ सम्मका विद्यार्थीहरूको समेत सहभागिता देखिएको थियो।

ट्यालेन्ट हन्टमा सहभागिता जनाएका उत्कृष्ट एसईई परीक्षार्थी खेलाडीहरूलाई धरानका विभिन्न कलेजहरूमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए। साथै, ती विद्यार्थीहरूको प्रशिक्षण एसईईको नतिजा नआउँदासम्म निरन्तर चल्ने उनले बताए।

समापन समारोहमा अध्यक्ष सुवेदी र कार्यक्रमका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे। यो क्याम्प धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको थियो।

यसअघि सम्पन्न ९ औं ट्यालेन्ट हन्टबाट करिब दुई दर्जन महिला तथा पुरुष विद्यार्थीहरू धरान मेघा हिमालयन कलेज र डिपो स्कुलमा कक्षा ११ मा अध्यनरत छन्। उनीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गरिएको संघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार