सुरेन्द्र भण्डारी
झापा : झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूलका १७ जना विद्यार्थीलाई ‘मास हिस्टोरिया’ भएको पुष्टि भएको छ।
प्रारम्भमा फुड पोइजनको आशंका गरिए पनि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका बालरोग विशेषज्ञ डा. दिनेश साहका अनुसार, ती सबैमा मानसिक अवस्थासँग सम्बन्धित ‘मास हिस्टोरिया’को लक्षण देखिएको हो।
डा. साहका अनुसार, विद्यार्थीहरूले विद्यालयमा नाचगान गरेपछि धाराको पानी पिएर केहीबेरमै पेट दुख्ने, असहज महसुस गर्ने लक्षण देखाए।
घटनापछि तत्काल विद्यालय प्रशासनले उनीहरूलाई बिर्तासिटी अस्पताल भर्ना गर्यो। सबै विद्यार्थी सामान्य उपचारपछि सकुशल घर फर्किएको स्कूलका संस्थापक प्रिन्सिपल खगेन्द्र सुवेदीले जानकारी दिए। प्रभावित विद्यार्थीहरू कक्षा ४ र ५ का हुन्।
‘मास हिस्टोरिया’लाई अहिलेको चिकित्सा विज्ञानमा 'डिसोसिएटिभ कनभर्जन डिसअर्डरू' भनिन्छ। डा. साहका अनुसार, मानसिक त्रास वा सामाजिक वातावरणका कारण व्यक्तिमा असामान्य लक्षणहरू — जस्तै पेट दुख्ने, बेहोस हुने, बोल्न गाह्रो हुने, एकाएक काम्ने आदि — देखा पर्न सक्छ, जुन असर एक जनाबाट अर्कोमा फैलिन सक्छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलकुमार राईको नेतृत्वमा टोली विद्यालयमा पुगेको थियो। प्रहरीले पनि प्रारम्भिक रूपमा दुषित पानी सेवनको आशंका गरेको थियो। तर उपचारका क्रममा चिकित्सकले फुड पोइजन नभई ‘मास हिस्टोरिया’ भएको पुष्टि गरे।
प्रतिक्रिया