एमालेमा ओलीको ‘ह्याट्रिक’, यी हुन सारथी

शुक्रबार, ०४ पुस २०८२

काठमाडौं : एमाले अध्यक्षमा केपी शर्मा ओली अत्यधिक मतसहित तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। ओली ९ औंदेखि ११ औं महाधिवेशनसम्म लगातार पार्टी अध्यक्षमा निर्वाचित भएका छन्।

एमालेको ११ औं महाधिवेशनमा आन्तरिक लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गरिएको हो। जसमा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई १ हजार ९९ मतान्तारले पराजित गरे। सौहार्दपूर्ण रूपमा भएको निर्वाचनमा ओली १ हजार ६ सय ६३ मत ल्याएर अध्यक्षमा विजयी भए। पोखरेलले ५ सय ६४ मात्रै मत ल्याए। ओली लगातार तेस्रो कार्यकालका लागि नेतृत्वमा चयन भएका हुन्। 

०७१ सालको नवौं महाधिवेशनबाट ओली एमालेको मूल नेतृत्वमा निर्वाचित भएका थिए। असार २५ देखि साउन १ सम्म काठमाडौंको कीर्तिपुरमा भएको त्यो महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए। ०७८ मा चितवनमा भएको १० औं महाधिवेशनमा ओली नै अध्यक्षमा निर्वाचित भएका थिए। उनले भीम रावललाई पराजित गरेका थिए। 

चितवनको नारायणगढमा उद्घाटन भएर सौराहामा ०७८ साल मंसिर १० गतेदेखि १४ गतेसम्म महाधिवेशन भएको थियो। ०७५ जेठ ३ मा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपाको अध्यक्ष पनि केपी शर्मा ओली नै थिए। ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि ओली निर्वाचित भएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१,७३७),विष्णुप्रसाद पौडेल (१,६७५), रामबहादुर थापा(१,५१६), गोकर्णराज विष्ट (१,३६८) र रघुजी पन्त (१,२५८ मत ल्याएर) विजयी भए। 

महासचिवमा शंकर पोखरेलले सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गरे। ओली र पोखरेलका प्यानलै बनाएर निर्वाचनमा दुई समूह होमिएका थिए। ओली समूहबाट महासचिवमा निर्वाचित पोखरेलले १,२२८ मत ल्याए। पोखरेल समूहका पाण्डेले ९९९ मत ल्याएका थिए।
उपमहासचिवमा लेखराज भट्ट (१,४५२),रघुवीर महासेठ (१,३६८) र योगेश भट्टराई (१,३४८) मत पाएर निर्वाचित भए। उपमहासचिवमा निर्वाचित भट्टराई मात्रै पोखरेल समुहका हुन्। भट्ट र महासेठ ओली प्यानलका हुन्। 

त्यस्तै, सचिवमा सर्वाधिक मत ल्याएर महेश बस्नेत विजयी भए। बस्नेतले १,५४४ मत ल्याए। त्यस्तै पद्माकुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१३३१), यमलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (११०८) मतसहित सचिवमा विजयी भए। 

३० वर्षमुनिका केन्द्रीय सदस्य 
एमाले केन्द्रीय सदस्यमा सबैभन्दा कम उमेरका २ जना युवा महिलाले पनि चुनाव जितेका छन्। ३० वर्षमुनिका अस्मिता थापा र एलिसा गौतम विजयी भए। दुवै जना खुला महिला कोटाबाट उम्मेदवार भएका थिए। थापाले सर्वाधिक १,८५९ मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भइन। गौतमले १,८१२ मत ल्याएर विजयी भइन्। थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षसमेत हुन् भने एलिसा इन्जिनियर हुन्। कम उमेरका रौनित साह निर्विरोध निर्वाचित भएका थिए। 

घरफर्क अभियानका ४ जना केन्द्रीय कमिटीमा 

पुनः एमाले फर्केका रामकुमार झाँक्रीसहित ४ जना केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्। ०७८ सालमा एमाले विभाजित हुँदा उनीहरू माधव नेपालको एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। नेपाल नेतृत्वको तत्कालीन एकीकृत समाजवादी माओवादीमा मिसिएपछि झाँक्रीसहितका नेता एमालेमा फर्केका थिए।

झाँक्रीलाई सचिवमा उठाउने चर्चा पनि चलेको थियो। तर, संस्थापन ओली पक्षले उनलाई केन्द्रीय सदस्यमा उठाएको थियो। झाँक्री १,९११ मत पाएर निर्वाचित भइन्। यस्तै, पुनः एमाले फर्केका कृष्णकुमार श्रेष्ठ (किसान) पनि १,५६० मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए।

बाराको क्षेत्र नं. ४ बाट विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका श्रेष्ठ झाँक्रीहरूकै समूहमा एमालेमा फर्किएका थिए। २०७४ को निर्वाचनमा तनहुँबाट एमालेका उम्मेदवार बनेका श्रेष्ठले तत्कालीन कांग्रेसका उम्मेदवार (वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल) लाई चुनाव हराएका थिए। एकीकृत समाजवादीमा गएपछि उनी केही समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीमा रहे। 

तत्कालीन एकीकृत समाजवादीबाटै एमालेमा फर्किएकी पार्वती विशुंखेले दलित महिला कोटामा १,८९५ मत ल्याएर केन्द्रीय सदस्य भएकी छन्। श्रमिक कोटाको खुलातर्फ १,५२६ मतका साथ केन्द्रीय सदस्य जितेका भोलानाथ पोखरेल पनि तत्कालीन एकीकृत समाजवादीका संस्थापक केन्द्रीय सदस्य थिए। कर्मचारी पृष्ठभूमिका नेता उनी २०८० मै एमालेमा फर्किएका हुन्। उनी कर्मचारीको आधिकारिक ट्रेड युनियनको अध्यक्ष पनि भएका थिए। 

सर्वाधिक मत ल्याउनेमा तिवारी
एमालेको ११ औं महाधिवेशनको निर्वाचनबाट सर्वाधिक मत ल्याउनेमा अधिकांश महिला नेतृत्वहरू छन्। सबैभन्दा बढी मत ल्याएर प्रतीक्षा तिवारी निर्वाचित भएकी छन्। मधेसी महिला कोटाबाट चुनाव लडेकी तिवारीले २,१२० मत ल्याएकी छन्। त्यस्तै मधेसी महिलाबाटै लडेकी सविता यादवले २,०५२ मत ल्याएर विजयी भइन्। मधेसी कोटाबाटै निर्वाचित ज्वालाकुमारी साहले २,०४४ ल्याएकी छन्। साह माओवादीबाट नेकपाकाल एमालेमै बसेकी हुन्। खुला महिला कोटाबाट सुनसरीकी भगवती चौधरीले धेरै मत ल्याएर चुनाव जितेकी छिन्। उनले २,०४४ मत ल्याएकी छन्। 

चौधरीले २,०७९ को आमनिर्वाचनका कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन्। रामरती देवी रामले २,०३९ मत ल्याएर निर्वाचित भएकी छिन्। त्यस्तै सरिताकुमारी गिरी (यादव)ले २,००३ मत ल्याएकी छन्। खुला महिलाबाट विमला विकले १,९६२ मत ल्याएर केन्द्रीय सदस्य जितेकी छिन्। 

खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई धेरै मत 
खुला केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएर निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली विजयी भएका छन्। अर्थात्, ज्ञवाली ‘म्यान अफ दि म्याच’ भएका छन्। ज्ञवालीले १९४२ मत पाए। ओली समूहबाट ज्ञवालीले महासचिवको दाबी गरेका थिए तर उनलाई उपाध्यक्षमा उठाइयो। सालिन विद्रोह गरी उपाध्यक्ष पद अस्वीकार गरेर ज्ञवाली केन्द्रीय सदस्यमा मात्रै चुनाव लडेका थिए। दोस्रो सर्वाधिक मत युवा नेता सुहाङ नेम्बाङ (१,७२१) पाएका छन्। सुहाङ संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङका छोरा हुन्। पछिल्लो समयका सुहाङ लोकप्रिय युवा नेता पनि हुन्। तेस्रोमा कृष्णभक्त पोखरेल (१,६९८), चौथो नम्बारमा किरण गुरुङ (१,६२७) र पाँचौं नम्बरमा कृष्णकुमार श्रेष्ठ (किसान) १,५६० मतसहित निर्वाचित भएका छन्। 

केन्द्रीय सदस्यमा खिमलाल भट्टराई (१,५५२), अच्युतप्रसाद मैनाली (१,५५०) ऐनबहादुर मगर (१,५४६), महेशकुमार बर्तौला (१,५२९), विशाल भट्टराई, (१,५२७), पदम गिरी (१,५१७), पार्वत गुरुङ (१,४९७), देवीप्रसाद ज्ञावली (१,४५३), भूमि त्रिपाठी (१,४४९), अमन मास्के (१,४३८),अशोक ब्यञ्जु (१,४३६), ऋषिकेश पोख्रेल (१,४२६), शेरबहादुर तामाङ (१,४२२), जगतबहादुर विश्वकर्मा (१,४१६),डा.भिष्म अधिकारी (१,३९६) मत पाएर विजयी भएका छन्। 

८ जना नयाँ पदाधिकारी 
एमालेको पदाधिकारीमा ८ जना नयाँ अनुहार निर्वाचित भएका छन्। उपाध्यक्षमा १ र सचिवमा ७ जना नयाँ अनुसार प्रवेश गरेका छन्। रघुजी पन्तले स्थायी समितिबाट उपाध्यक्षमा फड्को मारेका छन्। पन्तले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरेपछि ओली समूहले पन्तलाई प्यानलमा राखेको थियो। महेश बस्नेत पहिलोपटक पदाधिकारीमा उक्लिएका छ्न। सचिवमा सर्वाधिक मत ल्याएर बस्नेत निर्वाचित भए। उनी जेन–जी आन्दोलनपछि नेपाली राजनीतिक उदाएका नेता पनि हुन्। शेरधन राई, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई,भानुभक्त ढकाल र हिक्मतकुमार कार्की पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन्। 

  •     ओली ९ औंदेखि ११ औं महाधिवेशनसम्म लगातार पार्टी अध्यक्षमा निर्वाचित भएका छन्।
  •     १९ जनाको पदाधिकारीमा पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए। 
  •     १९ सदस्यीय एमालेका पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्।
  •     पुनः एमाले फर्केका रामकुमार झाँक्रीसहित ४ जना केन्द्रीय कमिटीमा निर्वाचित।
  •     खुल्ला केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएर निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली विजयी।
  •     ३० वर्षमुनिका अस्मिता थापा र एलिसा गौतम केन्द्रीय सदस्यमा निर्वाचित। 

१३ पदाधिकारीको पदोन्नति
अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव र २ सचिवबाहेक १३ जनाको एमालेमा पदोन्नति भएको छ। पृथ्वीसुब्बा गुरुङ उपमहासचिवबाट उपाध्यक्षमा उक्लिएका छन्। गोकर्णराज विष्ट सचिवबाट उपाध्यक्ष भएका छन्। नवौं र दसौं महाधिवेशनमा विष्ट सचिव दिए। पन्त त स्थायी समितिबाट उपाध्यक्ष भएका छन्। तीनै उपमहासचिव साविकभन्दा माथिल्लो पदमा उक्लिएका छन्।

नवनिर्वाचित उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई अघिल्लो कार्यकालमा सचिव थिए। सचिवहरू महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल र हिक्मतकुमार कार्की पहिलोपटक पदाधिकारीमा फड्को मारेका हुन्।

अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र रामबहादुर थापा तथा सचिवहरू पदमाकुमारी अर्याल र छविलाल विश्वकर्मा मात्रै तत्तत पदमा दोहोरिएका हुन्।

पोखरेल प्यानलबाट जसले जिते 
वरिष्ठ उपाध्यक्ष पोखरेल प्यानलबाट थोरैजनाले मात्रै चुनाव जितेका छन्। १९ जनाको पदाधिकारीमा २ जना मात्रै पोखरेल प्यानलका निर्वाचित भए। पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए। १७ जना पदाधिकारी ओली प्यानलकै छन्।

केन्द्रीय सस्दयमा पनि ईश्वर पोखरेल, गोकुल बास्कोटा, ठाकुरप्रसाद गैरे, कर्णबहादुर थापा, विन्दा पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अग्निप्रसाद खरेल, आनन्द पोखरेल र रचना खड्कालगायत सीमितले मात्रै चुनाव जिते। 

पदाधिकारीमा एक मात्र महिला 
१९ सदस्यीय एमालेका पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्। सचिवमा पद्माकुमारी अर्यालले चुनाव जितेकी छन्। जबकी दुई जना महिला नेताले पदाधिकारीमा उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा चुनाव लडेकी डा. बिन्दा पाण्डे पराजित भइन्। अघिल्लो कार्यसमितिमा अष्टलक्ष्मी शाक्य र अर्याल दुई जना महिला पदाधिकारी थिए। शाक्य निर्वाचन नलड्ने घोषणा गरेर बाहिरिएकी छन्।

ओलीका शक्ति रिमाल पराजित 
अध्यक्ष ओलीका शक्तिका रुपमा चिनिएका विष्णु रिमाल उपमहासचिवमा मात्रै होइन केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। उनले उपमहासचिवमा १,०९१ मत मात्रै पाए। रिमाल निवर्तमान उपमहासचिव हुन्। १० औं महाधिवेशनमा ओली प्यानलबाटै जितेका रिमाल लामो समयदेखि ओलीका अतिनिकट मानिन्छन्।

२०७४ र २०८१ मा ओली प्रधानमन्त्री हुँदा रिमाल प्रमुख राजनीतिक सल्लाहकार थिए। यो समयमा ओली निकटहरू नै रिमालसँग रुष्ट थिए। जसको परिणाम ओलीका शक्तिका रूपमा रहेका रिमालले नै चुनाव हार्नुपर्ने अवस्था आयो। एमालेको मजुर संगठन जिफन्टको नाम समय रिमालले नेतृत्व गरेका छन्। 

बस्नेतको उदय 
महेश बस्नेत। ११ औं महाधिवेशनबाट एमालेको राजनीतिमा जबर्जस्त उदाएका छन। सचिव पदमा ८ जनालाई उछिन्दै सर्वाधिक १,५४४ मत ल्याएर निर्वाचित भए। जेन–जी आन्दोलनपछि अध्यक्ष केपी ओलीका अति निकट बस्नेतले पार्टीमा पनि बलियो उपस्थिति देखाएका छन्। राजनीतिक दल सकिए, नेता सकिए भन्ने अवस्थालाई बस्नेतले जगाएका थिए। प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि नेपाली सेनाको घेरामा रहेका ओलीलाई आफ्नो घर गुण्डुनजिक लगेर राख्नेदेखि अराजकताविरुद्ध सडकमा निस्किएर उनले डर, भय र आंतकलाई मत्थर गराउने काम गरेका छन्। 

भदौ २३ र २४ गतेको आन्दोलनमा बस्नेतको घरमा पनि आगजनी गराइएको थियो। तत्कालीन माओवादी शान्तिप्रक्रियामा आएपछिको वाईसीएलको अराजकतालाई बस्नेतले नै ठीक ठाउँमा ल्याएका थिए। उनलाई कतिपयले ‘गुण्डा’ को आरोप पनि लगाउने गरेका छन्। अध्यक्ष ओलीलाई सुरक्षा दिनेदेखि जेन–जी आन्दोलनपछि सिर्जित अराजकता डर, भय र आंतकबाट मुलुकलाई लयमा ल्याउन काम गरेकोले पार्टी भित्र उनी लोकप्रिय बनेका छन्। जसले गर्दा उनले सचिव पदमा सर्वाधिक मत ल्याएर जितेका छन्। 

केन्द्रीय सदस्यमा ओलीको मत कति ? 
ठूलो मतान्तरले अध्यक्ष भएका ओलीले केन्द्रीय सदस्यमा ९७९ मत ल्याएका छन्। केन्द्रीय सदस्यमा भने ओलीका प्रतिस्पर्धा पोखरेलले बढी मत ल्याएका छन्। पोखरेल १,०८८ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महासचिवका दुवै उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा जित्ने बराबरको मत ल्याएनन्। पोखरेलले ८५१ र पाण्डेले ९६१ मत ल्याए। पोखरेलले महासचिव जिते। तर, पाण्डे केन्द्रीय सदस्य पनि हुन पाएनन्।

पति–पत्नी केन्द्रीय कमिटीमा 
एकै परिवारबाट श्रीमान्–श्रीमती, दाजुभाइ पनि एमालेको केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्। महासचिव शंकर पोखरेलका श्रीमान्–श्रीमती नै केन्द्रीय समितिमा आएका छन्। उनकी श्रीमती सुजिता शाक्यले राजधानी विशेषबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छ्न। उनले १,४८२ मत ल्याएकी छन्। उपमहासचिव रघुवीर महासेठका पति–पत्नी नै निर्वाचित भएका छन्। महासेठकी पत्नी जुलिकुमारी महतो मधेसी महिला क्लस्टरबाट १,९३७ मत ल्याएर विजयी भएकी छन्। 

शेरबहादुर तामाङका पति–पत्नी नै निर्वाचित भएका छन्। आदिवासी जनजाति महिलाबाट तामाङ पत्नी उषाकला राई निर्वाचित भएकी छन्। उनले १,८०४ मत ल्याएकी छन्। 

उपमेयर डंगोल निर्वाचित 
राजधानी विशेष ४० वर्षमुनिको क्लस्टरबाट काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल निर्वाचित भएकी छ्न। उनले १,६६८ मत ल्याएकी छन् उनका प्रतिस्पर्धीहरू सन्तोष खड्काले ३३० र राजन थापाले २२९ मत ल्याए। 

एमाले नेतृत्व माथि छोएमा सरकार ढल्छ : ओली 
११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएलगत्तै अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढल्ने चेतावनी दिएका छन्। भृकुटीमण्डपमा आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वलाई छोएमा देश नै ठप्प पार्ने पनि चेतावनी दिए।

उनले भने, ‘एमालेमाथि भौतिक हमला गर्ने, जाली मुद्दा लगाउने, पञ्चायतकालीन मुद्दा उठाउनेजस्ता मिडिया ट्रायल भइरहेका छन्। त्यो यथार्थ हल्ला पनि हुनसक्छ। एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ। ढालिन्छ यो सरकार। त्यसका लागि देशभरि तयारी गर्नुपर्छ।’

अध्यक्ष ओलीले ‘संसारमा केही महँगो छ भने त्यो एमालेलाई छुनु हो’ भन्ने पार्नुपर्ने नेता–कार्यकर्तालाई निर्देशन दिए। उनले यो सरकारले निर्वाचन होइन, षड्यन्त्रको तयारी गरिरहेको दाबी गरे। त्यसका लागि एक साताभित्र टोलटोलमा सुरक्षा टोली बनाउन उनले निर्देशन दिए। ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले एकताको नाटक गरेको भन्दै आलोचना गरे। 

उनले नेता पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको नाम घाँडो भइरहेको अवस्थामा पार्टी एकीकरण गरेको बताए। उनले एकीकृत समाजवादीबाट नेकपामा समायोजित नेता माधवकुमार नेपाललाई पनि पार्टी घाँडोको अवस्थामा रहेको बताए। ओलीले प्रचण्ड र माधव नेपाल दुवै नेताले पार्टी एकताको नाटक गरेको भन्दै कटाक्ष गरे। अध्यक्ष ओलीले सरकार र जेन–जीबीच भएको सम्झौता अवैधानिक रहेको दोहोर्‍याए।

उनले यो सम्झौता एमालेले कार्यान्वयन हुनै नदिने दाबी गरे। ओलीले सुशीला नेतृत्वको सरकारलाई चुनावको तयारी गर्न नसके बाटो छोड्न आग्रह गरे। ‘यो सरकारले सके निर्वाचन गराउनुपर्छ। सक्दैन भने बाटो लागे हुन्छ,’ उनले भने। अध्यक्ष ओलीले देश गम्भीर संकटमा रहेकाले राजनीतिक दलहरूलाई एक हुन आह्वान गरे।

उनले संविधान खारेज गर्ने विषय उठिरहेकाले राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए। ‘राजनीतिक दलहरू गम्भीर हुनुपर्छ। संविधान विरोधी तत्वहरू छन्। उनीहरूले संविधान नै खारेज गर्ने कुरा गर्दै छन्। त्यसको पक्षमा उभिनका लागि पनि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने।

आगन्तुक नेता लोकप्रिय 

एमालेको ११ औं महाधिवेशनमा आगन्तुक नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादी पृष्ठभूमिका नेताहरूले लोकप्रिय मत पाएर विजयी भएका छन्। नेकपा कालमा एमाले र माओवादी केन्द्र छुटिदा रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी थारु, ज्वालाकुमारी साहलगायतका नेता एमालेमै बसेका थिए। थापाले उपाध्यक्षमा १,५१६ मत ल्याएर विजयी भए। 

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलपछि थापाले धेरै मत ल्याएका हुन्। उपमहासचिवमा सर्वाधिक मतसहित भट्ट विजयी भए। उनले १,४५२ मत प्राप्त गरे। रघुवीर महासेठ र योगेश भट्टराईभन्दा बढी मत भट्टले पाए। भट्टलाई सुरुवातमा सचिवमा उम्मेदवारी दिइएको थियो, तर उनले सचिवमा पुनः नउठ्ने भनेर अड्डि कसेपछि उपमहासचिवको उम्मेदवार बनाइएको थियो।

केन्द्रीय सदस्यमा माओवादी पृष्ठभूमिकै ज्वालाकुमारी साहले पनि सर्वाधिक मत ल्याएर विजयी बनिन्। थारु खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गौरीशंकर चौधरी थारु १,९१६ मतसहित निर्वाचित भए। 

माओवादी पृष्ठभूमिकै लिलबहादुर थापामगर आदिवासी जनजाति खुला कोटाबाट १,३२० मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए। भूगोल बागमती महिला सदस्यबाट उम्मेदवारी दिएकी निरु दर्लामीले २,००५ मत प्राप्त गरेर बिजयी भएकी छन्। माओवादीबाटै एमालेमा प्रवेश गरेका जीवन गौतम पनि खुला केन्द्रीय सदस्यमा निर्वाचित भए। माओवादी पृष्ठभूमिका पूर्वसचिव टोपबहादुर रायमाझी भने नक्कली शरणार्थी प्रकरणमा जेलमा छन्।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार