विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पछिल्ला दिनहरूमा पार्टीको आन्तरिक राजनीति, १५ औँ महाधिवेशनको तयारी र फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको गतिविधिमा व्यस्त देखिन्छन् ।
तर, यस्ता राजनीतिक चाप र व्यस्तताबिच पनि उनले नेपाली प्रजातान्त्रिक आन्दोलनको इतिहाससँग गाँसिएको एउटा मानवीय कर्तव्यलाई प्राथमिकता दिएका छन् । उनी क्रान्तिका मौन साक्षीलाई श्रद्धाञ्जली दिन सीमापारि पुगे । २०१७ सालको ऐतिहासिक विमान अपहरण काण्डमा निर्णायक सहयोग पुर्याएका भारतीय नागरिक स्वर्गीय गणेशलाल शर्माको परिवारलाई भेट्न उनी बिहीबार भारतको बिहार राज्यस्थित फरविसगञ्ज पुगेका हुन् ।
विराटनगरबाट करिब ५५ किलोमिटर दूरी पार गर्दै दिउँसो करिब १ बजे डा. कोइराला फरविसगञ्जस्थित शर्माको निवासमा पुगे । केही दिनअघि ८९ वर्षको उमेरमा निधन भएका गणेशलाल शर्मा नेपाली प्रजातान्त्रिक आन्दोलनका बेला पर्दामा नदेखिए पनि घटनाको धार मोड्न सहयोग गर्ने महत्त्वपूर्ण पात्र थिए ।
विमान अपहरणपछि गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराईलगायतका क्रान्तिकारीहरूलाई जोखिम मोलेर जिपमार्फत सुरक्षित स्थानमा पुर्याउने काम शर्माले गरेका थिए । यही योगदानको स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गर्न डा. कोइराला स्वयं फरविसगञ्ज पुगेका हुन् ।
२०१७ साल जेठ २८ गते राजा महेन्द्रको कदमविरुद्ध आन्दोलनलाई अघि बढाउन नेपाली काँग्रेसले विराटनगरबाट काठमाडौं लैजान लागिएको रकम कब्जा गर्ने योजना बनाएको थियो । उक्त योजनाको निर्देशन बीपी कोइरालाले दिएका थिए भने नेतृत्व भारतमा रहेका गिरिजाप्रसाद कोइरालाले गरेका थिए । रकम हात पार्ने जिम्मेवारी वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र सूर्य सुवेदीलाई दिइएको थियो । यही क्रममा भएको विमान अपहरण नेपाली राजनीतिक इतिहासको एक निर्णायक मोड बन्यो ।
फरविसगञ्जमा शर्माको परिवारसँगको भेटमा डा. कोइरालाले ती दिनका घटनाहरू भावुकतासाथ स्मरण गरे । उनीसँगै पुगेका वसन्त अर्यालका अनुसार विराटनगर आए लगत्तै डा. कोइरालाले यो भेटको योजना बनाएका थिए । ‘बुधबार विराटनगर आएपछि नै डा. साबले फरविसगञ्ज जाने कुरा गर्नुभएको थियो । आज सोही अनुसार शर्माजीको घर पुग्यौँ । उहाँले त्यति बेलाका धेरै घटना आफैँ सुनाउनुभयो,’ अर्यालले भने ।
शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै डा. कोइरालाले आफू पनि उक्त दिन विमान चढ्ने तयारीमा रहेको प्रसङ्ग सार्वजनिक गरे । ‘घटना भएको दिन मैले पनि प्लेनको टिकट लिएको थिएँ । तर, प्रकाश दाइले रद्द गर्न भनेपछि महेन्द्र चोकको टिकट काउन्टरमा गएर टिकट रद्द गरेँ,’ उनले भने ।
त्यसपछि विराटनगरबाट काठमाडौँका लागि उडेको विमान अपहरणमा परेको र फरविसगञ्ज पुगेपछि गिरिजाबाबु, वसन्त भट्टराई र अन्य साथीहरूलाई शर्माले आफ्नै ज्यान जोखिममा राखेर सुरक्षित स्थानमा पुर्याएको उनले सम्झिए । ‘शर्माजीसँग कोइराला परिवारको निकै नजिकको सम्बन्ध थियो,’ उनले थपे ।
डा. कोइरालाका अनुसार गणेशलाल शर्मा २०१७ सालको क्रान्तिका सच्चा र निष्ठावान् सहयोगी थिए । नेपाली कांग्रेस र नेपाली जनताप्रति उनले जीवनभर सद्भाव राखेको उल्लेख गर्दै डा. कोइरालाले भने, ‘त्यसबेला शर्माजीले देखाउनु भएको साहस र सहयोग काँग्रेसका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि अमूल्य थियो । यस्तो योगदानलाई कुनै पनि हालतमा बिर्सनु हुँदैन ।’
उक्त भेटघाटमा विमान अपहरण काण्डका प्रत्यक्ष संलग्नकर्ता वसन्त भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङ काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, सचिवद्वय मोदराज घिमिरे र ललित श्रेष्ठ, कोषाध्यक्ष रञ्जु अधिकारी, बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
राजनीतिक कार्यक्रम र भाषणभन्दा बाहिर गएर इतिहासका मौन पात्रहरूको योगदानलाई सम्झन गरिएको यो यात्रालाई डा. शेखर कोइरालाको व्यक्तिगत संवेदनशीलता र राजनीतिक उत्तरदायित्वको उदाहरणका रूपमा देखिएको छ । सत्ता र पदको बहस चलिरहेका बेला पनि प्रजातन्त्रका लागि जोखिम मोलेका व्यक्तिहरूलाई सम्मान गर्न नबिर्सनु नै लोकतान्त्रिक संस्कृतिको गहिरो अर्थ भएको सन्देश उनको यात्राले दिएको छ ।
प्रतिक्रिया