काठमाडौं : नेपाल प्रहरीमा डिआइजी पदको हालै भएको बढुवालाई लिएर विवाद चुलिएको छ। बढुवा समितिले सिफारिस गरेको ११ जनाको सूचीमा परेको एसएसपी दीपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गर्दै युवराज सफलले गृह मन्त्रालयमा औपचारिक उजुरी दिएका छन्।
सफलले दाबी गरेअनुसार, रेग्मीले बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा अनैतिक तथा अमर्यादित क्रियाकलापमा संलग्न भएका थिए।
उजुरीमा उल्लेख भएअनुसार, उनले अर्को व्यक्तिको श्रीमतीसँग अवैध सम्बन्ध राखी सो महिलासँग मिलेर निर्दोष दीपक थापा नामक व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएका थिए। साथै, थापा र उनकी आमालाई नक्कली आर्थिक कागजातमा फसाउने प्रयाससमेत गरिएको आरोप उजुरीमा गरिएको छ।
सफलले ‘यस्ता चरित्रहीन, अनुशासनहीन र नैतिकताविहीन व्यक्तिलाई डिआइजीमा बढुवा गर्नु विधिको शासनमाथिको अपमान हो’ भन्दै कडा असन्तुष्टि जनाएका छन्। उनका अनुसार यथेष्ट प्रमाणका आधारमा यसअघि नै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायहरूमा उजुरी दिइसकिएको छ र छानबिन प्रक्रिया हाल पनि जारी छ।
छानबिन प्रक्रिया नसकिँदै रेग्मीको बढुवा सिफारिस गर्नु न्यायविरुद्ध भएको दाबी गर्दै सफलले उक्त निर्णय तत्काल खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्।
प्रतिक्रिया