सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर, कति पुगे सङ्ख्या ?

बुधबार, ०७ जेठ २०८२

चितवन : सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै गोताखोर तालिम प्राप्त जनशक्तिको संख्या निरन्तर बढाउँदै लगेको छ । सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको यस सुरक्षा निकायले अब विपद्मा प्रभावकारी उद्धार कार्यका लागि तालिम प्राप्त दक्ष जनशक्ति उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

यसैक्रममा चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट हालै गोताखोर तालिम लिएका २० जना सशस्त्र प्रहरी कर्मचारीलाई गृहमन्त्री रमेश लेखकले प्रमाणपत्र प्रदान गरेका छन् । तालिम पश्चात उनीहरूले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट गोताखोर ‘ट्याग’ पनि प्राप्त गरेका छन् ।

यसअघि २०६९ सालमा पहिलोपटक बङ्गलादेशबाट २५ जना सशस्त्र प्रहरीले गोताखोर तालिम लिएका थिए । त्यसयता नेपालमै पहिलोपटक २०७६ सालदेखि यो तालिम सञ्चालनमा आएपछि हालसम्म गोताखोर तालिम प्राप्त जनशक्तिको संख्या १२८ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

तालिमको दौरान प्रशिक्षार्थीहरूलाई चितवनको त्रिशूली नदी, पोखराको फेवाताल र सुनसरीको कोशी नदीमा व्यावहारिक अभ्यास गराइएको थियो । तालिम प्राप्त जनशक्ति बढेसँगै जलजन्य दुर्घटनामा परेका नागरिकहरूको उद्धार कार्यमा थप सहजता आउने विश्वास लिइएको छ ।

गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी टोलीहरू विभिन्न बाहिनी र गणमा परिचालित छन् । तीमध्ये प्रमुख रूपमा सुनसरीस्थित नं १ बराह बाहिनी, महोत्तरीको नं २ छिन्नमस्ता बाहिनी, सुर्खेतको नं ६ महेश्वरी बाहिनी, कैलालीको नं ७ वैद्यनाथ बाहिनी तथा तालिम शिक्षालय कुरिनटारमा तैनाथ छन् । साथै मोरङ, चितवन, कास्की, सिनामङ्गल, बाँके र सिन्धुलीस्थित गण तथा विपद् व्यवस्थापन वेशहरूमा पनि ती जनशक्ति परिचालनमा छन् ।

सशस्त्र प्रहरी बल नेपालले यस किसिमका तालिमहरूको निरन्तरता मार्फत विपद् उद्धार कार्यमा अझ प्रभावकारी रूपमा सेवा पु¥याउने लक्ष्य लिएको जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार