काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सत्तारुढ गठबन्धनभित्र नयाँ तनाव देखिएको छ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएका छन्।
गभर्नर नियुक्तिका लागि सोमबार मन्त्रिपरिषदको बैठकमार्फत निर्णय हुने अपेक्षा नेपाली कांग्रेसले गरेको थियो। तर, नियुक्तिका लागि आवश्यक सिफारिस समिति बसेर नाम सिफारिस नगरेपछि प्रक्रिया अघि बढ्न सकेन। समितिका संयोजक उपप्रधानमन्त्री विष्णु पौडेलले बैठक नै नबोलाएपछि कांग्रेस असन्तुष्ट भयो।
गभर्नर नियुक्तिमा ढिलाइ हुने पक्का भएपछि कांग्रेस निकटका मन्त्रीहरूले मन्त्रिपरिषदको बैठकमा भाग नलिने चेतावनी दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले बैठक नै स्थगित गरे।
प्रधानमन्त्री ओली उक्त घटनाक्रमपछि दबाबमा देखिएका थिए। कांग्रेसबाट आएको कडा सन्देशपछि उनले देउवालाई बालुवाटार आउन अनुरोध गरेका थिए। तर, देउवाले भेट्न नआउने बताएपछि ओली आफैं देउवाको निवास जाने तयारीमा थिए। यद्यपि, त्यसबीचमा गृहमन्त्री रमेश लेखक देउवाको सन्देश लिएर बालुवाटार पुगेका थिए।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई भेटेर गभर्नर नियुक्तिमा ढिलाइले नकारात्मक सन्देश गएको बताएका थिए। साथै, देउवाको तर्फबाट तीन दिनभित्र गभर्नर नियुक्त गर्नुपर्ने स्पष्ट सन्देश दिएका थिए।
यसबीच, सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा कांग्रेस नेताहरूको गोप्य बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तोष व्यक्त गरिएको कांग्रेस नेताहरूको भनाइ छ।
देउवाले भने सत्तागठबन्धन टिकाउन आफू प्रतिबद्ध रहेको र गभर्नर नियुक्तिमा आफ्नो मान्छे राखेर गठबन्धन तोड्ने सोच नरहेको बताएका छन्। यद्यपि, आफ्ना भनाइअनुसार प्रक्रिया अघि नबढे आफू पनि सोच्न बाध्य हुने चेतावनी उनले दिएका छन्।
यो घटनाले ओली नेतृत्वको सरकारले गठबन्धनभित्र विश्वासको संकट देखिएको संकेत दिएको छ। अबको केही दिनमा हुने गभर्नर नियुक्तिले सत्ता समीकरणको भविष्य तय गर्ने देखिन्छ।
प्रतिक्रिया